म्याग्दी- टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग-तातोपानी, दाना र नारच्याङका किसान चिन्तित भएका छन्।
भुरुङ्ग-तातोपानीको चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका बगैचामा मंगलबारको हावाहुरीले सुन्तला झारेर भुइँभरी बनाएपछि किसानको वर्षभरको मेहनत खेर गएको छ।
फगामका कृषक दुर्गादत्त सुवेदीले आफ्नो टोलबाट गत वर्ष रु २५ लाखको सुन्तला बिक्री भएकोमा हावाहुरीले झारेर रु एक लाखको पनि बिक्री गर्न नसकिने बनाएको दुखेसो गरे।
‘यसपाली दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अनुमान गर्दै उत्साहित भएका थियौं,’ उनले भने,‘हावाहुरीले बोटबाट दाना झार्नुका साथै हाँगा चुडाएको छ। भुइँमा झरेका दाना सबै फुटेका छन्।’
अन्नपूर्ण गाउँपालिकाका कृषि शाखाका अधिकृत योजना अधिकारीले हावाहुरीले सुन्तला खेतीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए।
गत वर्ष करिब रु चार करोड मूल्य बराबरको सुन्तला बिक्री भएको अन्नपूर्ण गाउँपालिकामा यसपाली हावाहुरीले तीन वटा वडामा पुगेको क्षतिका कारण उत्पादन घट्ने निश्चित छ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो।
उक्त हावाहुरीले अन्नपूर्ण गाउँपालिकाको ३ नम्बर वडामा पर्ने काभ्रे, दाना, फगाममा करिब २० वटा घरको छाना उडाएको वडा अध्यक्ष रमेश पुर्जाले बताए।
‘छाना उडाएका गोठको संख्या गनेर साध्य छैन,’ उनले भने,‘पक्की भवन रहेको दानास्थित ज्ञानप्रकाश माविको झ्याल र स्वास्थ्य चौकीको भवनको छाना पनि उडाएको छ।’
भालेबास स्थित कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको अन्नपूर्ण गाउँपालिका-४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताए।
भालेबासमा रहेको धवलागिरी आधारभूत विद्यालय, सुरक्षा बेसक्यापका साथै सुकबहादुर रोका, रनबहादुर रोका, देउबहादुर खड्का, रविन्द्र खड्का तुलाराम बुढा, कुमार खड्का, नारच्याङमा महलबहादुर गर्बुजाको घरको छाना उडाएको छ। अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्ट उडाएको छ।
भुरुङ्ग-तातोपानीका वडाअध्यक्ष ओमप्रकाश फगामीले हावाहुरीले रुख ढलाएपछि अवरुद्ध बनाएको सडक र विद्युत सेवा मर्मत गरि बुधबार साँझदेखि सञ्चालनमा ल्याएको बताए। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधि, कर्मचारी र प्राविधिकको टोली परिचालन गरेर क्षतिको विवरण संकलन भइरहेको बताए।
घरबासबिहिनलाई बसोबास, पुननिर्माण र कृषकलाई राहतका लागि प्रदेश र संघीय सरकारमा पहल गर्ने अध्यक्ष पुनले बताए। यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति व्यहोरेको अन्नपूर्ण गाउँपालिकालाई हावाहुरीले पुनःदुख दिएको छ।



