तनावबीच १२ बंगलादेशी खेलाडी आईपीएल लिलामीमा

हिमाल प्रेस ९ मंसिर २०८३ १६:५५ | Wednesday, November 25, 2026
तनावबीच १२ बंगलादेशी खेलाडी आईपीएल लिलामीमा

काठमाडौँ- भारत र बंगालादेशबीच राजनीतिक तनाव बढिरहेका बेला आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी लिलामीका लागि १२ जना बंगलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन्।

आगामी डिसेम्बर १६ मा गोवामा हुने मिनी लिलामीका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्।

तर, फ्रेन्चाइजी टोलीले खेलाडी छनोट गर्नुअघि सूची छोट्याइनेछ। बीसीसीआईका अनुसार लिलामीअघि टोलीहरूले १८४ खेलाडीलाई कायम राखेका वा छनोट गरिसकेका छन्। अब विदेशी खेलाडीका लागि २५ सहित अधिकतम ६६ स्थान भर्न बाँकी छ।

भारत र बंगलादेशबीचको तनावले क्रिकेट सम्बन्धसमेत प्रभावित हुँदै आएको छ।

सुरक्षा चिन्ताका कारण भारत सहआयोजक रहेको यस वर्षको टी–२० विश्वकपमा खेल्न अस्वीकार गरेपछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको थियो।

यसअघि गत वर्षको आईपीएल लिलामीमा १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यमा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेका बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउन बीसीसीआईले निर्देशन दिएको थियो।

मुस्लिम बहुल बंगलादेशमा हिन्दूमाथि भएको भनिएको आक्रमणलाई लिएर भारतका दक्षिणपन्थी समूहले अनलाइन विरोध गरेपछि उक्त निर्णय आएको थियो।

ढाकाले भने भारतीय सञ्चारमाध्यमले हिंसाको परिमाण बढाइचढाइ गरेको आरोप लगाउँदै आएको छ।

सन् २०२४ मा बंगलादेशमा भएको जनविद्रोहबाट भारतको निकट सहयोगी तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो। हसिना हाल भारतमा निर्वासनमा रहेका छन्।

यसपटक लिलामीका लागि दर्ता भएका चर्चित खेलाडीमध्ये इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स पनि छन्। उनको आधार मूल्य दुई लाख १६ हजार ९०० अमेरिकी डलर तोकिएको छ।

प्रारम्भिक सूचीमा सबैभन्दा धेरै ९३९ जना भारतीय खेलाडी छन्। विदेशी खेलाडीमध्ये अस्ट्रेलियाका ५३, दक्षिण अफ्रिकाका ४०, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ जना छन्।

यस्तै, अमेरिकाका १३ तथा संयुक्त अरब इमिरेट्स र नेपालका १०–१० खेलाडीले नाम दर्ता गराएका छन्।

लिलामीपछि फ्रेन्चाइजी टोलीहरूले आगामी वर्षको आईपीएल प्रतियोगिताका लागि आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन्।

प्रकाशित: ९ मंसिर २०८३ १६:५५ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast