कृषि क्षेत्रमा नेपाली र बंगलादेशी कामदार रोज्दै जापान

हिमाल प्रेस ९ मंसिर २०८३ १२:३२ | Wednesday, November 25, 2026
कृषि क्षेत्रमा नेपाली र बंगलादेशी कामदार रोज्दै जापान फुकुसिमा प्रान्तको रेफ्रुट्स कम्पनीमा किवी फल उत्पादन गर्ने बोटबिरुवाको हेरचाह गर्दै एक कृषि कामदार। वृद्ध जनसंख्या लगायतका कारण जापानको कृषि क्षेत्रमा दीर्घकालीन श्रमिक अभाव देखिएको छ। तस्बिर : एएफपी/रासस

काठमाडौँ- दक्षिण एसियाली देश बंगलादेश र नेपालका कामदार जापानको कृषि क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै छन्। जापानले कृषि क्षेत्रमा निरन्तर देखिएको श्रमिक अभाव समाधान गर्ने प्रयास गरिरहेका बेला दक्षिणपूर्वी एसियाली देशका कामदारको प्रवाह सुस्त हुँदै गएको छ।

विदेशी दक्ष कामदारलाई तालिम दिने र जापानमा टिकाइराख्ने उद्देश्यले काम गर्ने टोकियोस्थित कम्पनी मिराईले पहिलोपटक बंगलादेशी कृषि कामदारहरू छनोट गर्न थालेको छ। यसले दक्षिण एसिया जापानका लागि नयाँ श्रमिक स्रोतका रूपमा उदाउँदै गएको संकेत गरेको छ। भियतनाम र फिलिपिन्सबाट कामदार आउने क्रम भने सुस्त हुँदै गएको छ।

अगस्टमा जापानको कृषि क्षेत्रका लागि तोकिएको दक्ष कामदार परीक्षा उत्तीर्ण गरेपछि मिराईसँग साझेदारी रहेको बंगलादेशको एक विद्यालयका दुई विद्यार्थीले आओमोरी प्रान्तको कृषि कम्पनीमा रोजगारीको प्रस्ताव पाएका छन्। उनीहरू आगामी महिनाहरूमा जापानको उत्तरपूर्वी क्षेत्रमा काम गर्न जानेछन्।

‘म जापान जान र जापानी कृषि प्रणालीबारे सिक्न निकै उत्साहित छु,’ उत्तरी बंगलादेशको मयमनसिंहका २१ वर्षीय अहसान हबिबले भने, ‘म आफ्नो अनुभवको राम्रो उपयोग गर्न र कुखुराको उचित हेरचाह गर्न चाहन्छु।’

दक्षिणी बंगलादेशको बरिसालका २० वर्षीय सियाम उर रहमानले भने, ‘जापानमा काम गर्ने अवसर पाएकोमा म आभारी छु। जापान गएपछि म निकै मेहनत गर्न चाहन्छु।’ उनले जापानमा हिउँ छुन पाउने प्रतीक्षासमेत गरिरहेको बताए।

जापान सरकारको तथ्यांकअनुसार कृषि क्षेत्रमा काम गर्ने पहिलो श्रेणीका निर्दिष्ट दक्ष विदेशी कामदारको संख्या गत वर्षको जुनको तुलनामा २६ प्रतिशतले बढेर ४४ हजार ५० पुगेको छ। उनीहरूको जापान बसाइ सामान्यतया पाँच वर्षसम्म सीमित हुन्छ। हबिब र रहमान पनि यही श्रेणीमा पर्नेछन्।

जापानको अध्यागमन सेवा निकायका अनुसार इन्डोनेसिया सबैभन्दा ठूलो श्रमिक स्रोत बनेको छ। त्यहाँबाट १८ हजार दुई सय ५५ कामदार जापान पुगेका छन्, जुन ४५ प्रतिशत वृद्धि हो। नेपालबाट आउने कामदारको संख्या ३० प्रतिशत बढेर नौ सय १६ पुगेको छ। श्रीलंकाबाट ६० प्रतिशत वृद्धि भएर ६ सय ३८ पुगेको छ भने बंगलादेशबाट आउने कामदारको संख्या १२७ प्रतिशत बढेर तीन सय ३४ पुगेको छ।

मिराईको मूल कम्पनी सस्टेनेबल होल्डिङ्सको करिअर एडभाइजरी डिभिजनका महाप्रबन्धक युजी नोमुराका अनुसार भियतनाम, फिलिपिन्स र अन्य दक्षिणपूर्वी एसियाली देशमा ज्याला बढ्दै जाँदा जापानलाई ती क्षेत्रबाट कृषि कामदार आकर्षित गर्न चुनौती बढेको छ।

‘हामी श्रमिक आपूर्तिका स्रोत दक्षिण एसियातर्फ सर्दै गएको देखिरहेका छौँ,’ नोमुराले भने। ‘बंगलादेश ठूलो कृषिप्रधान अर्थतन्त्र नभए पनि करिब १७ करोड जनसंख्या भएको कृषि देश हो र त्यहाँ विकासको ठूलो सम्भावना छ’, उनले साउथ चाइना मर्निङ पोस्टसँग भने।

सन् २०१८ देखि सस्टेनेबल होल्डिङ्सले मिराईमार्फत एसियाका विभिन्न देशमा विदेशी कामदारका लागि तालिम र जापानमा टिकाइराख्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीको साझेदार विद्यालय सञ्जाल फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, बंगलादेश र म्यानमारमा फैलिएको छ। हाल श्रीलंका र नेपालमा पनि नयाँ साझेदार विद्यालय थपिएका छन्।

विद्यालयका विद्यार्थी १८ वर्षदेखि ३० वर्ष आसपासका उमेर समूहका छन्। महिलाहरू प्रायः स्याहारसम्बन्धी कामतर्फ आकर्षित हुने गर्छन् भने पुरुषहरू कृषि क्षेत्रमा काम गर्न रुचाउँछन्। कृषि क्षेत्रमा निर्दिष्ट दक्ष कामदारको हैसियत प्राप्त गर्न उम्मेदवारले जापानी भाषा परीक्षाको प्रारम्भिक तह एन४ तथा कृषि क्षेत्रको लिखित र व्यावहारिक परीक्षा उत्तीर्ण गर्नुपर्ने नोमुराले बताए।

‘जापान उन्नत कृषि प्रविधि भएको देशका रूपमा चिनिन्छ,’ उनले भने, ‘त्यसैले कतिपय मानिस जापानमा काम गरेपछि अस्ट्रेलिया र इजरायलका कृषि फार्ममा काम गर्छन् वा आफ्नै देशमा कृषि व्यवसाय सञ्चालन गर्छन्।’

मिराईले बंगलादेशमा ढाका, चटगाउँ र बरिसालमा तीनवटा साझेदार विद्यालय सञ्चालन गरेको छ। ढाकास्थित विद्यालयमा भाषा तथा अन्य विषय पढाउने जापानी प्रशिक्षक नोरिको नुर नोबीले हबिब र रहमान जापानी परीक्षा उत्तीर्ण भएकोमा खुसी व्यक्त गरेकी छन्।

बंगलादेशमा दुई दशक बिताएकी र बंगाली भाषामा स्थानीय समुदायसँग सम्बन्ध बनाएकी नुर नोबीले प्रभावकारी तालिमका लागि प्रत्येक कामदारको सांस्कृतिक पृष्ठभूमि र सोच बुझ्नु महत्त्वपूर्ण रहेको बताइन्। उनले जापानमा विदेशी कामदारले दीर्घकालसम्म सहज, सुरक्षित र समृद्ध जीवन बिताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइन्।

वृद्ध जनसंख्या लगायतका कारण जापानको कृषि क्षेत्रमा लामो समयदेखि श्रमिक अभाव छ। सरकारी तथ्यांकअनुसार पहिलो श्रेणीका निर्दिष्ट दक्ष कामदार तथा सामान्य बसाइ अवधि सीमा नभएका दोस्रो श्रेणीका कामदारसमेत समेट्दा कृषि क्षेत्रमा निर्दिष्ट दक्ष विदेशी कामदार र प्राविधिक प्रशिक्षार्थीको संख्या सन् २०२५ डिसेम्बरको अन्त्यसम्म ६७ हजार नौ सय पाँच पुगेको थियो।

कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार ३९ हजार दुई सय ३४ निर्दिष्ट दक्ष विदेशी कामदारमध्ये इन्डोनेसिया र भियतनामका कामदारको हिस्सा ६० प्रतिशतभन्दा बढी थियो।

तीव्र आर्थिक वृद्धि भइरहेका दक्षिणपूर्वी एसियाली देशहरूको बदलिँदो अवस्था जापानमा दक्षिण एसियाली कामदारका लागि नयाँ अवसर खोलिरहेको छ। सस्टेनेबल होल्डिङ्सका निर्देशक नोरियुकी ताकाकुराका अनुसार बंगलादेश, श्रीलंका र नेपालका मानिस मेहनती, गम्भीर र अनुशासित मानिन्छन्। त्यसैले उनीहरूलाई राम्रो सम्मान प्राप्त छ।

सस्टेनेबल होल्डिङ्सले एसियाका विभिन्न देशमा मिराईका साझेदार विद्यालयमा विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्दै आएको छ। जापान पुगेपछि उनीहरूलाई आवास खोज्न पनि सहयोग गर्छ। ‘हामी प्रत्येक देशमा कृषि कक्षाहरू क्रमशः विस्तार गर्नेछौँ,’ ताकाकुराले भने।

प्रकाशित: ९ मंसिर २०८३ १२:३२ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast