काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा)सर्वसम्मत चयन भएका छन्। देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
प्यूठान जिल्ला निवासी थापाले यसअघि लुम्बिनी प्रदेश सरकारमा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन उद्घाटन समारोहमा शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा. प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन र मेखलाल श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।



