क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

हिमाल प्रेस ६ मंसिर २०८३ २१:०७ | Sunday, November 22, 2026
क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन्।

यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव संसद्का दुवै सदनमा डेमोक्रेटको नेतृत्व कायम हुने भएपछि अघि बढ्ने उनको अपेक्षा छ।

फक्स न्युजसँग कुरा गर्दै उनले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको बताए। न्युयोर्क फेडरल रिजर्भका अनुसार क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ।

सिनेटर एलिजाबेथ वारेन, प्रतिनिधि म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीलगायतले पनि ब्याजदर सीमित गर्ने प्रस्तावलाई समर्थन गरेका छन्।

तर, बैंक तथा कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोकिए कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकलाई कार्ड उपलब्ध गराउन कठिन हुने तथा पुरस्कार र सुविधा कटौती गर्नुपर्ने तर्क गर्दै आएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं डलर बचत गर्न सक्नेछन्। यसले क्रेडिट कार्ड उद्योगको नाफामा असर पारे पनि उद्योग घाटामा नजाने उनीहरूको निष्कर्ष छ।

उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो र उनीहरूले ब्याजबापत एक खर्ब ६० अर्ब अमेरिकी डलर तिरेका थिए।

न्युयोर्क फेडरल रिजर्भका अनुसार गत वर्षको तेस्रो त्रैमासिकसम्म अमेरिकीहरूको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको थियो, जुन हालसम्मकै उच्च हो।-रासस/एपी

प्रकाशित: ६ मंसिर २०८३ २१:०७ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast