भारतले भन्यो – प्रधानमन्त्री शाहको भ्रमणले द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउनेछ

हिमाल प्रेस ४ मंसिर २०८३ १५:०० | Friday, November 20, 2026
भारतले भन्यो – प्रधानमन्त्री शाहको भ्रमणले द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउनेछ

काठमाडौँ- भारतले प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जनाएको छ। प्रधानमन्त्री शाहको भ्रमण तालिका सार्वजनिक गर्दै भारतीय विदेश मन्त्रालयले यस्तो बताएको हो।

विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरको प्रगाढ सम्बन्धका कारण नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ।

पछिल्लो समय दुई देशबीच व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल कनेक्टिभिटीका क्षेत्रमा उल्लेखनीय प्रगति भएको र स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुद जस्ता नयाँ क्षेत्रमा समेत सहकार्य विस्तार हुँदै गएको भारतले जनाएको छ।

दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै हुन लागेको यस भ्रमणले भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको उच्च महत्वलाई उजागर गर्ने भारतले विश्वास लिएको छ।

भ्रमणले द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउँदै पारस्परिक लाभकारी सहायोगलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा भारतले गरेको छ।

प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २३ सम्म नयाँदिल्लीको भ्रमणमा जान लागेका हुन्।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेयता उनको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा प्रधानन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको समीक्षा गरिनुका साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदानप्रदान हुने बताइएको छ।

मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।

प्रकाशित: ४ मंसिर २०८३ १५:०० | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast