तीन दिन प्रकृतिको काखमा रमाउँदा… [तस्बिरहरूसहित]

माला खनाल ४ मंसिर २०८३ १३:१७ | Friday, November 20, 2026
20
SHARES
तीन दिन प्रकृतिको काखमा रमाउँदा… [तस्बिरहरूसहित]

कहिलेकाहीँ आफ्नै मनको आवाज सुनेर यात्रा गर्नुपर्छ। न साथीको प्रतीक्षा न कसैको समय मिलाउनुपर्ने बाध्यता। काठमाडौँको कोलाहल, व्यस्तता र उही दैनिकीबाट केही समय टाढा हुने चाहनाले यसपटक मलाई भैरवकुण्ड पुर्‍यायो।

एक्लै, सार्वजनिक बस चढेर सुरु भएको यो यात्रा तीन दिनको थियो। तर अनुभूतिका हिसाबले निकै लामो र अविस्मरणीय रह्यो। काठमाडौँ छाडेर सार्वजनिक बसमा यात्रा सुरु गर्दा मनमा अनेक कौतूहल थिए। यात्रा कस्तो होला? गाडी कहाँसम्म पुग्ला? बाटो कति सहज वा कठिन होला?

सहरको कोलाहल क्रमशः पातलिँदै जाँदा मन पनि हलुका हुँदै गएको अनुभव भयो।

सहरको भीड बिस्तारै पछाडि छुट्दै गयो। सडकका घुम्ती, पहाडी बस्ती, हरियाली र बाटोमा देखिने जीवनका अनेक दृश्यले यात्रालाई रोचक बनाउँदै लगे। बस जहाँसम्म पुग्न सक्थ्यो, त्यहाँसम्म पुगेँ। त्यो ठाउँ थियो बगाम। सामाजिक सञ्जालमार्फत भेटिएको पासाङ होमस्टेमा बास बस्न पुगेँ। भोलिपल्टको यात्राका लागि शरीरलाई आराम दिनु थियो। तर मन भने भैरवकुण्ड पुग्ने कल्पनामा अलि अगाडि नै पुगिसकेको थियो।

भोलिपल्ट बिहान चार बजे भैरवकुण्ड यात्राका लागि भाडाको सानो गाडीमा चोकरमोकरतर्फ लागियो। बाहिर अझै अँध्यारो थियो। चिसो हावाले बिहानको सन्नाटालाई झन् गहिरो बनाएको थियो। उज्यालो नहुँदै कुण्डतर्फको यात्रा सुरु भयो। कच्ची सडक, साँघुरा घुम्ती र डरलाग्दा भिरपाखा छिचोल्दै करिब दुई घण्टामा चोकरमोकर पुगियो।

सामान्य खानपिनपछि भैरवकुण्डतर्फको पैदल यात्रा सुरु भयो। उकालो बाटो, चिसो मौसम र सुनसान परिवेश। साथमा न कोही साथी थियो, न कसैले हतार गराउने व्यक्ति। आफ्नै पाइला र साहसको भरमा अघि बढिरहेकी थिएँ। कहिले बाटोको कठिनाइले शरीर थाक्थ्यो, कहिले वरपरको प्राकृतिक सौन्दर्यले थकान बिर्साइदिन्थ्यो।

बिहान बिस्तारै उज्यालिँदै थियो। आकाशको रङ फेरिँदै जाँदा पहाडका आकृति स्पष्ट देखिन थाले। वनजङ्गल, पहाडी भूगोल, चिसो हावा र टाढा देखिने हिमाली दृश्यले यात्रा अद्भुत बनाइरहेका थिए। प्रकृतिको नजिक पुग्दा मानिसले आफूलाई कति सानो र प्रकृतिलाई कति विशाल पाउँदो रहेछ भन्ने अनुभूति भयो।

यात्रामा जानुअघि जान्नैपर्ने कुरा के रहेछ भने चोकरमोकरबाटै पानी र खानेकुराको पर्याप्त जोहो गरेर निस्कनुपर्छ। त्यसबीचमा बस्ती छैन, पानीको व्यवस्था पनि छैन। यात्राका क्रममा भेटिएका कतिपय मानिस पानीको अभावमा लेक लागेर आराम गरिरहेका देखिए। केही त बिस्तारै फर्किरहेका थिए। मैले आफूसँग भएको पानी बाटोमा आवश्यक परेकाहरूलाई बाँडेँ। तर आफूले पनि पानीको अभाव झेल्नुपर्‍यो।

यस्तो कठिन यात्रामा समेत आफ्नो आवश्यकताको ख्याल नगरी अरूबाट मागेरै काम चलाउने प्रवृत्ति देख्दा भने मन खिन्न भयो। पहाडी तथा हिमाली यात्रामा पानी र खानेकुराको व्यवस्थापन केवल सुविधा होइन, सुरक्षासँग जोडिएको विषय हो भन्ने कुरा यस यात्राले अझ स्पष्ट पार्‍यो।

अन्ततः भैरवकुण्ड पुगियो

समुद्री सतहबाट करिब चार हजार एक सय २४ मिटर उचाइमा रहेको सिन्धुपाल्चोकको यो हिमाली कुण्ड प्राकृतिक सौन्दर्यको अनुपम गन्तव्य मात्र होइन, धार्मिक आस्थाको केन्द्र पनि हो। भगवान् भैरवसँग जोडिएको यस कुण्डमा जनैपूर्णिमाका अवसरमा मेला लाग्छ। हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले यसलाई श्रद्धाका साथ हेर्ने गर्छन्।

 मेरो यात्राको उद्देश्य आस्थासँगै प्रकृतिको सामीप्य अनुभव गर्नु थियो। कुण्डको शान्त पानी, चारैतिर फैलिएका पहाड र हिमाली वातावरणले मनलाई एकाएक शान्त बनायो। केही समय त्यहीँ बसेर वरपर नियालिरहेँ। न मोबाइलमा व्यस्त हुन मन लाग्यो, न कसैसँग कुरा गर्न। केवल हेर्न, महसुस गर्न र त्यो क्षणलाई आफैँभित्र सुरक्षित राख्न मन लाग्यो।

करिब आधा घण्टा कुण्ड परिसरमा एक्लै बिताएँ। केही जोडी फर्किरहेका थिए, केही यात्रु तलबाट माथि आउँदै थिए। त्यहाँ भेटिएका एक जोडीलाई आफ्ना केही तस्बिर खिचिदिन आग्रह गरेँ। उनीहरू फर्किएपछि आफैँले पनि केही तस्बिर लिएँ र कुण्ड वरपर घुमेँ। नेपालको सौन्दर्य अन्यत्र कहाँ पाइएला भन्ने लाग्यो। युरोप, अमेरिका वा पश्चिम एसियाका देश घुम्दाको अनुभवभन्दा यहाँको अनुभूति निकै फरक थियो। कहिलेकाहीँ शब्दले व्यक्त गर्न नसकिने आनन्द पनि हुँदो रहेछ।

त्यहाँ बिताएको समयले एउटा कुरा फेरि सम्झायो। प्रकृतिलाई हेर्नु र प्रकृतिसँग रमाउनु फरक कुरा हुन्। हामी धेरैजसो ठाउँ पुग्छौँ, तस्बिर खिच्छौँ र फर्कन्छौँ। तर केही ठाउँले तस्बिरभन्दा धेरै कुरा मनमा छाडेर जान्छन्। भैरवकुण्ड त्यस्तै लाग्यो।

त्यही दिन साँझ फेरि बिहान बास बसेकै होमस्टेमा फर्किएँ। बिहानको अँध्यारोमा सुरु भएको यात्रा साँझसम्म अनेक दृश्य र अनुभूतिसहित पूरा भएको थियो। शरीर थाकेको थियो। कसरी तल होमस्टेसम्म आइपुगेँ, आफैँलाई थाहा भएन। तर मन असाध्यै प्रसन्न थियो। भोलिपल्ट त्यही क्षेत्रबाट सार्वजनिक बस चढेर काठमाडौँ फर्किएँ।

यसरी तीन दिनको यात्राले सहरको कोलाहलबाट केही समयका लागि मुक्ति दियो। आफ्नै गतिमा हिँडियो, आफ्नै आँखाले प्रकृति हेरियो र आफ्नै मनसँग केही समय बिताइयो। यात्राका क्रममा आफ्ना नजिकका मानिसहरूलाई सम्झिएँ। हिउँसँग पौठेजोरी खेल्दै, हेर्दै खाउँखाउँ लाग्ने हिउँलाई पानीका रूपमा चाख्दै बिताएका क्षण पनि उत्तिकै रमाइला रहे।

बाटोमा पानी नबोकी पुगेका यात्रुहरूलाई पानी बाँड्दा मेरो टम्बलर खाली भएको थियो। फर्कँदा त्यही टम्बलर हिउँले भरेँ। कतै हिउँ चाख्दै, कतै पानी पिउँदै फर्किएको त्यो क्षण साँच्चै अविस्मरणीय रह्यो। थकित भएर एक ठाउँमा त भुइँमै लडेँ। केही क्षण संसारका सबै कुरा बिर्सिएर भगवान्को काखमा पुगेजस्तो अनुभूति भयो। फेरि सांसारिक मोह र जिम्मेवारी सम्झिएँ, उठेँ र आफ्ना पाइला अगाडि बढाएँ।

काठमाडौं फर्किएँ। फेरि उही भीड, उही सडक र उही व्यस्तता सुरु भयो। तर मनमा भैरवकुण्डको शान्त पानी, बिहानको चिसो हावा र हिमाली प्रकृतिको सुन्दरता पनि सँगै फर्किएका थिए।

कहिलेकाहीँ आफूलाई भेट्न पनि एक्लै यात्रा गर्नुपर्छ। गन्तव्यमा पुग्नु मात्रै यात्रा होइन रहेछ। यात्राका क्रममा आफूले महसुस गरेका सानासाना क्षण नै जीवनका सुन्दर सम्झना बन्ने रहेछन्। भैरवकुण्डको तीनदिने यात्राले मलाई यही सिकायो।

तस्बिरहरू

      

प्रकाशित: ४ मंसिर २०८३ १३:१७ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast