नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक शक्ति बनाउने संकल्पका साथ निर्वाचनको तयारी गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय भेला समापन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, देशको रक्षा, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सीमा तथा भूमिको रक्षाका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने भन्दै त्यसै अनुसार तयारी गर्न निर्देशन दिएका हुन्।
अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे। उनले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई विस्थापन भयो भनेर बुझ्नु नहुने बताए। अध्यक्ष ओलीले समाजलाई सबै भ्रमहरुबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने धारणा राखे।
ओलीले आगजनी, तोडफोड, हिंसा, आतंक, लुटपाट जस्ता गतिविधिमा संलग्न वा ब्याकिङमा रहेका शक्तिहरूलाई प्रतिद्वन्द्विका रूपमा औंल्याउँदै अरूसँग मिलेर पनि त्यस्ता शक्तिलाई हटाउन सकिने उल्लेख गरे।
उनले स्थानीय तहको प्रतिनिधिको कार्यकाल पाँच वर्ष हुने भएकाले दुई-तीन महिना अगाडि नै निर्वाचन सार्ने कुरा उपयुक्त नहुने स्पष्ट अडान निर्वाचन आयोगसमक्ष राखिने जिकिर गरे। अध्यक्ष ओलीले पार्टीभित्र हस्तान्तरण र पुस्तान्तरणको कुरा गरिए पनि एउटा पद पाएपछि तल्लो पदमा बस्न कोही तयार नहुने अवस्था देखिएको बताए। काम गर्न नसकिने अवस्था आएमा ठाउँ छोडेर नयाँलाई अवसर दिनुपर्ने र कामको मूल्यांकनका आधारमा अघि बढ्नुपर्ने उनले बताए।
उनले अघिल्लो केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ’ बैठक मान्दै त्यसअघिका अनुशासनहीन गतिविधि वा सामाजिक सञ्जालका विषयमा क्षमा दिइए पनि अब उप्रान्त अनुशासन उल्लंघन भए कारबाही हुने स्पष्ट पारे।



