ट्रम्प एसियामा

हिमाल प्रेस १ मंसिर २०८३ २१:०८ | Tuesday, November 17, 2026
ट्रम्प एसियामा

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया भ्रमणको पहिलो चरणमा फिलिपिन्सको राजधानी मनिला पुगेका छन्। उनको एसिया भ्रमण चीनमा राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भेटवार्तापछि टुंगिनेछ।

मनिलामा एयर फोर्स वानबाट ओर्लिनेबित्तिकै ट्रम्पका लागि रातो कार्पेट बिछ्याइएको थियो। त्यहाँको एक सांगीतिक टोलीले उनको मनपर्ने गीत ‘वाईएमसीए’ बजाएको थियो। त्यसपछि उनी हेलिकोप्टरबाट होटल पुगेका छन्।

आसियान शिखर सम्मेलनमा ट्रम्पको पहिलो भेट क्वाडमा आबद्ध अमेरिकाका साझेदार राष्ट्रका नेताहरूसँग भएको थियो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘निकै कठोर व्यक्ति’ भनेका छन् भने जापानी प्रधानमन्त्री सानाए ताकाइचीलाई ‘त्यसभन्दा पनि कठोर हुन सक्ने’ टिप्पणी गरे। भेटमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज पनि सहभागी थिए।

‘हाम्रा देशहरू स्वतन्त्र, खुला, स्थिर र समृद्ध हिन्द-प्रशान्त क्षेत्रका चार आधारस्तम्भ हुन्,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने।

‘हाम्रो सम्बन्ध उत्कृष्ट छ र हामीबीच निकट समन्वय छ। मेरो फोन सधैँ खुला छ,’ उनले थपे।

दक्षिणपूर्वी एसियाका धेरै देश अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएका भन्सार शुल्क र इरानसँगको युद्धबाट नराम्ररी प्रभावित भएका छन् तर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो विस्तारका कारण गत वर्ष अमेरिकामा यस क्षेत्रको निर्यात ३० प्रतिशतले बढेको थियो। एआई प्रविधिका लागि आवश्यक धेरैजसो उपकरण तथा सामग्री दक्षिणपूर्वी एसियाली देशहरूले उत्पादन गर्छन्।

अमेरिका यस क्षेत्रका थप देशलाई आफ्नो ‘प्याक्स सिलिका’ प्रविधि तथा एआई सञ्जालमा आबद्ध गराउन चाहन्छ। यसमार्फत उनीहरूलाई चीनको प्रभावबाट टाढा राख्ने अमेरिकी रणनीति छ।

तर यस क्षेत्रमा चीनको ठूलो प्रभावलाई सहजै चुनौती दिन सकिने अवस्था छैन। ट्रम्प फिलिपिन्समा केही घण्टा मात्रै रहने भएकाले त्यस अवधिमा यस्तो प्रभाव घटाउन झनै कठिन छ।

मनिलामा एक रात बिताएपछि अमेरिकी राष्ट्रपति चीनको सेन्जेन जानेछन्। त्यहाँ उनले एसिया-प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा भाग लिनुका साथै सी चिनफिङ र भ्लादिमिर पुटिनसँग आणविक हतियारसम्बन्धी वार्ता गर्नेछन्।

पुटिनसँग छुट्टै भेटवार्ता गर्न पनि इच्छुक हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘त्यस्तो अवसर मिल्यो भने म तयार छु।’

प्रकाशित: १ मंसिर २०८३ २१:०८ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast