बालबालिकालाई प्रकृतिसँग जोड्ने टर्कीको अभ्यासमा शिक्षामन्त्री पोखरेलको चासो

हिमाल प्रेस ३० कार्तिक २०८३ १३:४८ | Monday, November 16, 2026
10
SHARES
बालबालिकालाई प्रकृतिसँग जोड्ने टर्कीको अभ्यासमा शिक्षामन्त्री पोखरेलको चासो

काठमाडौँ- बालबालिकालाई किताबको ज्ञानसँगै प्रकृति संरक्षण, पुनः प्रयोग र वातावरणमैत्री जीवनशैली सिकाउने अभ्यास नेपालका विद्यालयमा कसरी विस्तार गर्न सकिन्छ? जलवायु परिवर्तन र वातावरणीय चुनौती बढिरहेका बेला शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टर्कीको विद्यालयमा सञ्चालित यस्तै अभ्यासको स्थलगत अवलोकन गरेका छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका मन्त्री पोखरेलले सम्मेलनका औपचारिक कार्यक्रमसँगै त्यहाँको बालमैत्री तथा हरित शिक्षा प्रणालीबारे अनुभव लिएका हुन्।

टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनको निमन्त्रणामा मन्त्री पोखरेलले एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) को अवलोकन गरे।

भ्रमणमा टर्कीका शिक्षा क्षेत्रका अधिकारी, सत्तारुढ एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीका प्रतिनिधिहरू पनि सहभागी थिए।

विद्यालयको अवलोकनका क्रममा मन्त्री पोखरेलको विशेष चासो बालबालिकालाई सानै उमेरदेखि वातावरण संरक्षण र दिगो विकासका व्यवहारिक अभ्यासमा सहभागी गराउने पद्धतिमा देखिएको थियो।

विद्यालय परिसरमा सञ्चालित कार्यशाला, बिरुवा उत्पादन क्षेत्र र मिनी ग्रीनहाउसको निरीक्षण गर्दै उनले बालबालिकाले आफैँ सञ्चालन गरेका वातावरणमैत्री गतिविधिबारे जानकारी लिए। विद्यार्थीहरूले तयार पारेका शून्य फोहोर (जिरो वेस्ट) परियोजना, पुनः प्रयोग तथा रिसाइकलका अभ्यास र नर्सरीमा गोलभेँडालगायत तरकारी तथा बिरुवा उत्पादन गर्ने विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग उनले छलफल गरे।

यी गतिविधिले बालबालिकालाई वातावरण संरक्षणको सैद्धान्तिक ज्ञान मात्र नभई दैनिक जीवनमा त्यसको प्रयोग गर्न सिकाउने मन्त्री पोखरेलले बताए। भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीले शिक्षक तथा अभिभावकसँग पनि अन्तरक्रिया गरे। पूर्वप्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका अनुभव, शैक्षिक पूर्वाधारको आवश्यकता तथा विद्यालय र अभिभावकबीचको सहकार्यका विषयमा छलफल भएको थियो।

विद्यालयका बालबालिकाले अतिथिहरूको स्वागतमा परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरेका थिए। बिरुवा रोप्ने तथा सांस्कृतिक गतिविधिमा सहभागी बालबालिकाको सिर्जनशीलताको प्रशंसा गर्दै दुवै मन्त्रीले उनीहरूसँग संवादसमेत गरे।

अवलोकनपछि मन्त्री पोखरेलले बालबालिकामा सानैदेखि प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु सचेतना विकास गर्न सके नयाँ पुस्तालाई वातावरणमैत्री तथा विपद् उत्थानशील बनाउन सकिने धारणा राखे।

उनका अनुसार विद्यालय शिक्षा किताबी ज्ञानमा मात्र सीमित हुनुहुँदैन। बालबालिकाले आफ्नो वरपरको प्रकृति, स्थानीय वातावरण र दैनिक जीवनसँग जोडिएर सिक्ने अवसर पाउनुपर्छ। नेपालमा पनि पूर्वप्राथमिकदेखि विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिक र स्थानीय परिवेशसँग जोड्ने प्रयास भइरहेको भन्दै उनले टर्कीको अभ्यासबाट सिक्न सकिने बताए।

नेपालले विद्यालय शिक्षामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषय समेट्ने तयारीलाई पनि अघि बढाएको छ। विद्यालयका भौतिक पूर्वाधारको वैज्ञानिक मूल्यांकनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी शिक्षालाई पाठ्यक्रममा एकीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १३:४८ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast