प्राकृतिक विपद्‌मा जोखिमपूर्ण उद्धारले संगठनको साहस, दक्षता र क्षमता उजागर गर्‍यो : सैनिक प्रवक्ता बस्नेत

हिमाल प्रेस ३० कार्तिक २०८३ १२:०० | Monday, November 16, 2026
8
SHARES
प्राकृतिक विपद्‌मा जोखिमपूर्ण उद्धारले संगठनको साहस, दक्षता र क्षमता उजागर गर्‍यो : सैनिक प्रवक्ता बस्नेत

काठमाडौँ- प्राकृतिक विपद्का समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ।

पछिल्लो समय भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीसहित विभिन्न प्राकृतिक विपद्का घटनामा सेनाले जोखिमपूर्ण अवस्थामा समेत प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालन गर्दै आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार विपद् प्रभावित क्षेत्रमा सेनाले सञ्चालन गरेका हवाई, जमिनी तथा सुरुङभित्रका जोखिमपूर्ण उद्धार कार्यले संगठनको साहस, व्यावसायिक दक्षता र प्रतिकार्य क्षमतालाई उजागर गरेको छ।

महामारी नियन्त्रण, मनोसामाजिक परामर्श र राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता कार्यले विपद्पछिको मानवीय आवश्यकता सम्बोधनमा सेनाको बहुआयामिक भूमिका स्पष्ट पारेको उनले बताए।

प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नेपालमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि, भौगोलिक बनावट तथा मौसमी प्रतिकूलताका कारण बाढी, पहिरो, डुबान, हिमपहिरो र भूकम्पजस्ता घटना दोहोरिँदै आएका छन्।

यस्ता विपद्का समयमा नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ जनशक्तिसहित परिचालन भएर नागरिकको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा गम्भीर असर पुर्‍याएको थियो। बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य जारी रहेकै अवस्थामा असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा थप बाढी, पहिरो र डुबानको जोखिम सिर्जना गर्‍यो।

विशेषगरी बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायतका जिल्लामा जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुग्दा स्थानीय बासिन्दा र पर्यटकसमेत प्रभावित भएका थिए।

त्यस्तो विषम परिस्थितिमा नेपाली सेनाले ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरी खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिएको थियो।

भोटेकोशी बाढीपछिको प्रतिकार्यका क्रममा भदौ २४ गतेसम्म चार हजार ८१ जनाको हवाई उद्धार गरिएको थियो। यसै क्रममा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गर्नु सेनाको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ।

विपद् प्रतिकार्यमा सेनाको भूमिका खोज तथा उद्धारमा मात्र सीमित रहेन। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन परिचालित इमर्जेन्सी मेडिकल रेस्पोन्स टिमले तीन हजार ५३५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। प्रभावित क्षेत्रमा महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता कार्यसमेत सञ्चालन गरिएका थिए।

त्यसैगरी, असोजको अविरल वर्षा र बाढीबाट प्रभावित पर्वत, बागलुङ, म्याग्दी र मनाङका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा पनि सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सारिएको थियो। असोज २५ गते बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी एक हजार १०६ जनालाई हेलिकप्टर र स्थलमार्गबाट उद्धार गरिएको थियो।

सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गर्नुका साथै डुबानमा परेका घरभित्रका सामान सुरक्षित रूपमा निकाल्न पनि सेनाले सहयोग गरेको थियो।

विपद्पछिको पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा समेत सेनाको योगदान उल्लेखनीय रहेको छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्न देवीघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवाको आवागमन सहज बनाउन सेनाले सहयोग गरेको थियो।

त्यस्तै, मनाङको चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन गर्न, अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्न तथा बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गर्न सेनाले भूमिका खेलेको थियो। बूढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी सडक आयोजनालाई हस्तान्तरण गरिएको थियो।

यी कार्य प्रभावकारी बनाउन विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीचको समन्वय र सहकार्य पनि महत्वपूर्ण बनेको थियो। नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था तथा स्थानीय समुदायको एकीकृत प्रयासले उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाएको थियो।

भोटेकोशी बाढीका क्रममा त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्चेमा फरवार्ड कमान्ड सेन्टर स्थापना गरी फिल्ड तहका समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको थियो। यसले निर्णय प्रक्रिया र कार्यान्वयनबीचको दूरी घटाउनुका साथै उपलब्ध जनशक्ति तथा स्रोतसाधनको व्यवस्थित परिचालनमा सहयोग पुर्‍याएको थियो।

सेनाको नेतृत्वमा हरेक वर्ष सञ्चालन हुने संयुक्त विपद् प्रतिकार्य अभ्यासले पनि विभिन्न निकायबीचको समन्वयलाई थप सुदृढ बनाउँदै आएको छ। पूर्वतयारी, तालिम, अभ्यास र वास्तविक घटनास्थलमा गरिएको सहकार्यले विपद्का बेला उद्धार तथा राहत कार्यमा कार्यगत एकरूपता कायम गर्न मद्दत पुर्‍याउने गरेको छ।

प्रतिकूल मौसम, दुर्गम भूगोल र अवरुद्ध स्थलमार्गका बाबजुद ड्रोनजस्ता प्रविधिको उपयोग गरी आवश्यक सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाइनुले सेनाको प्रविधिमैत्री प्रतिकार्य क्षमतासमेत देखाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १२:०० | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast