काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। बालीमा सम्पन्न आईसीसी बोर्ड तथा समितिको बैठकमा निर्देशकहरूले गरेको प्रस्तावपछि शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय गरिएको हो।
पुनः अध्यक्षमा निर्वाचित भएपछि शाहले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा आईसीसी बोर्ड तथा सबै निर्देशकप्रति आभार व्यक्त गरेका छन्।
उनले आईसीसी अध्यक्षका रूपमा काम गर्नु आफ्नो लागि विशेष अवसर र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै विश्वभर क्रिकेटको विकास र विस्तारका लागि सदस्य राष्ट्रहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहले क्रिकेट अहिले इतिहासकै महत्वपूर्ण र रोमाञ्चक चरणमा प्रवेश गरिरहेको बताएका छन्। सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदमा क्रिकेटको पुनरागमनले खेललाई नयाँ दर्शकमाझ पुर्याउनुका साथै खेलाडी र समर्थकको नयाँ पुस्तालाई आकर्षित गर्ने अवसर प्रदान गर्ने उनको विश्वास छ।
उनका अनुसार आईसीसीको जिम्मेवारी सफल प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित छैन। समर्थक, खेलाडी, व्यावसायिक साझेदार तथा अन्य सरोकारवालालाई केन्द्रमा राख्दै क्रिकेटको भविष्यलाई अझ बलियो, समावेशी र दिगो बनाउनु पनि संस्थाको महत्वपूर्ण दायित्व हो।
क्रिकेटको सबैभन्दा ठूलो शक्ति मानिसहरूलाई एकताबद्ध बनाउने क्षमता रहेको उल्लेख गर्दै शाहले बोर्ड र सदस्य राष्ट्रहरूको सहकार्यमा योजनालाई कार्यान्वयनमा बदल्ने तथा आगामी पुस्तासम्म सकारात्मक प्रभाव पार्ने उपलब्धि हासिल गर्ने लक्ष्य रहेको बताएका छन्।



