पृथ्वी राजमार्गको घोप्टेभिरमा सडक : सुक्खा पहिरोले यात्रामा सधैँ जोखिम

हिमाल प्रेस १ मंसिर २०८३ ७:२९ | Monday, November 16, 2026
पृथ्वी राजमार्गको घोप्टेभिरमा सडक : सुक्खा पहिरोले यात्रामा सधैँ जोखिम

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजारबाट करिब तीन किलोमिटर कुरिनटारतर्फ पर्ने घोप्टेभिरमा सुक्खा पहिरो खस्न थालेपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। करिब ३० मिटर माथिबाट ढुंगासहित पहिरो खसिरहँदा सडकमा जुनसुकै बेला आवागमन रोकिने जोखिम बढेको छ।

पहिरोका कारण सवारी आवागमन पटकपटक अवरुद्ध हुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ। गत साता नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिएपछि चितवन फर्कन १२ घण्टाभन्दा बढी समय सडकमा बिताउन बाध्य भएका थिए।

शनिबार काठमाडौँबाट चितवन आउँदै गरेका सरोज रेग्मी कुरिनटार पुग्दा लामो जाम देखेपछि आत्तिए। “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यहीँ रोकिनुपर्‍यो”, उनले भने। करिब एक घण्टा पर्खिएपछि उनले सडक पार गरेका थिए । बेलाबेलामा ढुङ्गा खसिरहँदा यात्रा जोखिमपूर्ण बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गासहित पहिरो खसिरहेको बताए । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी सञ्चालन गरिएको भए पनि आइतबार बिहान पहिरो खसेपछि एकतर्फी सञ्चालनमा आएको उनले जानकारी दिए।

“आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ। सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ”, उनले भने । सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय जाम हुने गरेको उनले बताए ।

तिहारको भाइटीकाको अघिल्लो दिन राति ११ बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको पौडेलले बताए। “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन”, उनले भने । सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको उनले बताए ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडक छेउको डाँडो कमजोर भएकाले सुक्खा पहिरो खसिरहेको हो । तत्काल भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उनले बताए। जोखिमपूर्ण पहिरो खसेर जोखिम कम हुने अवस्थाको प्रतीक्षा गर्नुको विकल्प तत्काल नरहेको उनको भनाइ छ।

पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उनले बताए। पहिरोस्थलमा रातिको समयमा उज्यालोका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा राखिएको मिश्रले जानकारी दिए।

यो सडक हुँदै दैनिक १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश गर्ने र बाहिरिने गर्छन्। सवारी चाप उच्च हुने यस सडकमा थोरै समय आवागमन रोकिँदा पनि लामो जाम हुने गरेको छ। अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा बिताउनुपर्दा आफ्ना कामबाट समेत वञ्चित हुने गरेका छन्।

प्रकाशित: १ मंसिर २०८३ ७:२९ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast