क्रिकेटर सन्दीप लामिछाने। फाइल तस्बिर।
काठमाडौँ- कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।
नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको नेतृत्वमा टोली सार्वजनिक गरेको हो।
नेपाली टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्। त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउँदा नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोलीका खेलाडीसमेत मैदान उतार्न पाउनेछन्। यूएईले भने यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नोभेम्बर २२ मा यूएईसँग प्रतिस्पर्धा गर्ने नेपालले समूह चरणको अन्तिम खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ विरुद्ध खेल्नेछ।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।



