छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

हिमाल प्रेस २९ कार्तिक २०८३ ६:१९ | Sunday, November 15, 2026
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ- छठ पर्वमा आज सूर्य भगवानको विधिपूर्वक पूजाआराधना गरी धुमधामका साथ मनाइँदैछ।

नेपाल तथा भारतका हिन्दु समुदायले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार लगत्तै मनाउने यो चाड कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ। अहिंसा, परोपकार र सद्भावको सन्देश दिने यो पर्व मुख्यतया तराई तथा मधेसवासीहरूको महान् चाड भए पनि पछिल्लो समय हिमाल र पहाडी भेगमा बस्ने सम्पूर्ण नेपालीहरूले समेत यसलाई उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउन थालेका छन्।

चार दिनसम्म अत्यन्त निष्ठाका साथ मनाइने यस पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुहरूले बिहानै स्नान गरी, हातगोडाका नङ काटेर घर सफा गर्दछन् र चोखो भात, दाल तथा लौकाको तरकारीलगायतका सात्त्विक भोजन ग्रहण गर्दछन्।

पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ, जसमा व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर साँझपख पवित्र जलाशयमा स्नान गर्दछन्। त्यसपछि दूध, चामल र सख्खरबाट बनेको खीर ९रसियाखीर० पकाएर प्रसादका रूपमा ग्रहण गरी मुख्य व्रतको सुरुआत गर्दछन्।

पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिन ‘सन्ध्या अर्घ्य’ दिइन्छ । यस दिन निराहार रहेका व्रतालुहरू साँझपख खोला, नदी, पोखरी तथा जलाशयमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य अर्पण गर्दछन् र रातभर नदी किनारमै जाग्राम बसी भजनकीर्तनमा लीन हुन्छन्।

पर्वको चौथो तथा अन्तिम दिन सप्तमीमा ‘उषा अर्घ्य’ दिने गरिन्छ। बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर पूजा विसर्जन गरिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्दछन् र आफन्तजन तथा श्रद्धालुहरूलाई बाँडेर चार दिने कठोर व्रत समापन गर्दछन्।

छठ पूजाका लागि उखु, केराको बोट र फल, बेसार, अदुवा, नरिवल, जौ तथा विशेष परिकारका रूपमा ठेकुवा र भुसुवा जस्ता सामग्रीहरूको प्रयोग गरिन्छ। अत्यन्त पवित्र र शुद्ध मनले षष्ठी भगवती र सूर्यको पूजाआराधना गर्दा पारिवारिक मनोकामना पूरा हुने, घरपरिवारमा सुख–शान्ति तथा समृद्धि छाउने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । साथै, यो पर्वमा विशेष रूपमा पुत्र, पति तथा सम्पूर्ण परिवारको दीर्घायु र कल्याणको कामना गरिन्छ।

छठ पर्वको सुरुआतका विषयमा विभिन्न धार्मिक तथा पौराणिक मान्यताहरू जोडिएका छन्। लङ्का विजयपछि अयोध्यामा रामराज्य स्थापना गर्ने क्रममा कार्तिक शुक्ल षष्ठीका दिन भगवान् राम र सीताले सूर्यदेवको उपासना गरी रातभर जाग्राम बसेर सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएको कथन पाइन्छ।

सूर्य पुराणअनुसार अत्रि ऋषिकी पत्नी सती अनुसूयाले आफ्नो दाम्पत्य निष्ठा र सुख–शान्तिका लागि यो व्रत गरेकी थिइन्, जहाँबाट यो परम्परा सुरु भएको मानिन्छ। महाभारतकालमा पाण्डवहरूको वनवासका क्रममा द्रौपदीले अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको र सूर्यपुत्र कर्णले पानीमा डुबेर लामो समय सूर्य उपासना गरी महान् योद्धा बन्ने शक्ति प्राप्त गरेको शास्त्रीय मान्यता पनि यस पर्वसँग जोडिएको छ। छठ पर्व यस्तो अद्वितीय चाड हो, जसमा अस्ताउँदो र उदाउँदो दुवै स्वरूपका सूर्यलाई समान आस्थाका साथ अर्घ्य दिइन्छ।

धार्मिक विश्वासका साथै छठ पर्व प्रकृतिको ऊर्जा र मानव स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। सूर्यको किरणबिना पृथ्वीमा कुनै पनि प्राणी तथा वनस्पतिको अस्तित्व सम्भव नभएकाले सूर्यलाई सकारात्मक ऊर्जा र शक्तिको स्रोत मानिन्छ। बिहानको समयमा तामाको भाँडामा जल राखेर सूर्यलाई चढाउँदा र सूर्यस्नान (सनबाथ) गर्दा शरीरका महत्त्वपूर्ण अङ्गहरू सक्रिय भई विभिन्न रोगहरूबाट मुक्ति मिल्ने वैज्ञानिक आधारसमेत रहेको छ । यही सम्पूर्ण ऊर्जा, जीवन र शक्तिका कारक सूर्यदेवलाई स्वास्थ्य र कल्याणको स्रोत मानेर छठ पर्वमा विशेष उपासना गर्ने गरिन्छ ।

प्रकाशित: २९ कार्तिक २०८३ ६:१९ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast