काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

हिमाल प्रेस २७ कार्तिक २०८३ १६:०९ | Friday, November 13, 2026
काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

काठमाडौँ- काठमाडौँ गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिमले १० अंकसहित अंकतालिकाको शीर्षस्थानमा कब्जा जमाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो।

यससँगै सुदूरपश्चिमले सात रनको जित निकाल्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो। लिग चरणका सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिमले १० अंक जोडेको छ।

सुदूरपश्चिमसँगको हारपछि काठमाडौँ गोर्खाजको प्लेअफ यात्रा भने अनिश्चित बनेको छ। चार खेलमा जित र दुई खेलमा हार बेहोरेको काठमाडौँ आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

काठमाडौँले लिग चरणको अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। उक्त खेलको नतिजापछि मात्रै उसको प्लेअफ यात्रा टुंगो लाग्नेछ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौँविरुद्ध ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। टोलीले २.३ ओभरमा आठ रन जोड्दा चार विकेट गुमाइसकेको थियो।  संकटपूर्ण अवस्थामा कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पाँचौँ विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले। आरिफ १६ रन बनाएर रनआउट भए।

त्यसपछि दीपेन्द्र र थरिन्दु रत्नायकेले छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको थियो।

कप्तान दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा अर्धशतक पूरा गरेका थिए। थरिन्दु रत्नायके २६ रन र फाबियन एलेन दुई रनमा अविजित रहे।

काठमाडौँका लागि जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।

प्रकाशित: २७ कार्तिक २०८३ १६:०९ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast