भीमफेदी दुर्घटनाका घाइते र मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने

हिमाल प्रेस २७ कार्तिक २०८३ १३:२१ | Friday, November 13, 2026
भीमफेदी दुर्घटनाका घाइते र मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनाका घाइतेको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारीसाधन (ईभी माइक्रोबस)  सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ सुन्दरपुरका बासिन्दा र एक जना चालक काभ्रे जिल्लाको काभ्रे नगरपालिका निवासी रहेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइएको छ।

घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।

दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

सरकारले दुर्घटनाबाट पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्धता जनाएको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १३:२१ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast