बिदामा पनि विद्यार्थीको पढाइको चिन्ता, घरघरमै पुग्यो विद्यालय

हिमाल प्रेस २३ कार्तिक २०८३ ११:२९ | Monday, November 9, 2026
बिदामा पनि विद्यार्थीको पढाइको चिन्ता, घरघरमै पुग्यो विद्यालय

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

दसैँतिहारको लामो बिदामा विद्यार्थीले घरमा कसरी समय बिताइरहेका छन्?, गृहकार्य गरेका छन् कि छैनन्?, पर्वसँगै प्रयोगात्मक सीप सिकिरहेका छन् कि छैनन्?, घरमा पढ्ने वातावरण कस्तो छ? अभिभावकले पढाइप्रति कस्तो चासो राखेका छन्? लगायत यी प्रश्नको जवाफ खोज्दै विद्यालयले घरदैलो अभियान सञ्चलन गरेको हो।

दसैँ र तिहारबीचको लामो बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीको घरमै पुगेर उनीहरूको पठनपाठन र क्रियाकलापको अवस्था बुझ्ने उद्देश्यले अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको विद्यालयका शिक्षक गणेश केसीले बताए।

यही कात्तिक १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत विद्यालयको सेवा क्षेत्रका विभिन्न बस्ती र समुदायमा पुगेर शैक्षिक अवस्थाको अनुगमन गर्नाका साथै अभिभावकसँग छलफल गरिएको उनको भनाइ छ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र पूर्वविद्यार्थीको प्रतिनिधित्व रहेको टोलीले घरघरमा पुगेर विद्यार्थीको गृहकार्य, पठनपाठन, घरको वातावरण र बिदाको समयमा उनीहरूले गरिरहेका गतिविधिबारे जानकारी लिएको शिक्षक केसीले बताए।

अध्ययनलाई निरन्तरता दिन टोलीले विद्यार्थी र अभिभावकलाई सुझाव तथा परामर्श दिनाका साथै विद्यालयको शैक्षिक सुधारका विषयमा अभिभावकसँग अन्तरक्रिया गरेको छ। अन्तरक्रियाका क्रममा अभिभावकले आफ्ना अनुभव, अनुभूति र सुझाव प्रस्तुत गरेका थिए। विद्यालयले आगामी योजना र शैक्षिक सुधारका प्रयासबारे पनि अभिभावकलाई जानकारी गराएको थियो।

विद्यालयको नियमित पठनपाठन सञ्चालन भइरहेका बेला मात्र विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने परम्परागत अभ्यासभन्दा बिदाको समयमा घरमै पुगेर उनीहरूको अध्ययन र पारिवारिक वातावरण बुझ्ने प्रयासलाई विद्यालयले नयाँ अभ्यासका रूपमा अघि बढाएको हो।

विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगोनाले बिदाको समयमा विद्यार्थीले घरमा गर्ने क्रियाकलाप र अध्ययनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै अभिभावकसँग अन्तर्क्रिया गर्दा शैक्षिक उपलब्धि वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

उनका अनुसार विद्यार्थीको सिकाइमा विद्यालयको प्रयाससँगै घरपरिवारको भूमिका पनि महत्वपूर्ण हुने भएकाले अभिभावकसँगको सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिइएको हो।

कार्यक्रमका क्रममा विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाबाट उत्साहजनक सहभागिता र विद्यालयप्रति सद्भाव प्राप्त भएको शिक्षक केसीले बताए।

घरदैलो कार्यक्रमले विद्यार्थीको पढाइप्रति अभिभावकको चासो बढाउनाका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक पक्ष सुधारका लागि आवश्यक सुझाव संकलन गर्न सहयोग पुगेको उनको भनाइ छ।

विद्यालयको सेवा क्षेत्रका अधिकांश बस्तीमा पुगिसकेको टोलीले बाँकी रहेका स्थानमा पनि छिट्टै भेटघाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। भेटघाटका क्रममा प्राप्त सुझावलाई विद्यालयको आगामी योजना र सुधारका कार्यक्रममा समेट्दै कार्यान्वयन गर्दै जाने विद्यालयले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ११:२९ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast