एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाण्डूबीच प्रतिस्पर्धा हुँदै

हिमाल प्रेस २३ कार्तिक २०८३ ८:०१ | Monday, November 9, 2026
एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाण्डूबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा कर्णाली र पोखरा प्रतिस्पर्धा गर्नेछन्। खेल अपराह्न १२ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदान उत्रनेछन्।

चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली याक्स तालिकाको छैटौँ स्थानमा छ। पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। चार खेल खेलेको पोखराले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्नु हुनेछ।

चार खेलबाट तीन जित र एक हारसहित चार अंक जोडेको काठमाण्डू गोर्खाज तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै, पाँच अंकसहित चौथो स्थानमा रहेको चितवन राइनोजले चार खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ। चितवनको एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

आजका दुवै खेल अंकतालिकाको समीकरणका हिसाबले महत्वपूर्ण हुनेछन्।

प्रकाशित: २३ कार्तिक २०८३ ८:०१ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast