डोल्पा कारागारबाट फरार ६ कैदीबन्दी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ

हिमाल प्रेस २३ कार्तिक २०८३ ७:५१ | Monday, November 9, 2026
डोल्पा कारागारबाट फरार ६ कैदीबन्दी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ प्रतिनिधिमूलक तस्बिर।

डोल्पा- जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार थप दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन्।

उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङगाउँभन्दा माथिको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका-४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए।

यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए। भागेकामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ७:५१ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast