कुकुर तिहार : पशुप्रतिको सम्मानको अनुपम सांस्कृतिक अभ्यास कि कर्मकाण्ड?

बद्रीप्रकाश ओझा २२ कार्तिक २०८३ १६:५९ | Sunday, November 8, 2026
10
SHARES
कुकुर तिहार : पशुप्रतिको सम्मानको अनुपम सांस्कृतिक अभ्यास कि कर्मकाण्ड?

कुकुर तिहार नेपाली समाजको एउटा विशिष्ट सांस्कृतिक पर्व हो। यस दिन कुकुरलाई फूलमाला लगाइन्छ, निधारमा टीका लगाइन्छ र मिठो खानेकुरा दिएर सम्मान गरिन्छ। हिन्दू धार्मिक परम्परामा कुकुरलाई यमराजको दूत, भैरवको वाहन तथा सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। तर यस पर्वको महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन। यसले मानव र कुकुरबीच हजारौँ वर्षदेखि विकसित हुँदै आएको सहअस्तित्व, विश्वास, सहकार्य र भावनात्मक सम्बन्धलाई पनि स्मरण गराउँछ।

कुकुरलाई सम्मान गर्ने परम्परा नेपालमा मात्र पाइन्छ भन्ने दाबी भने ऐतिहासिक तथा मानवशास्त्रीय प्रमाणका आधारमा सावधानीपूर्वक गर्नुपर्छ। विश्वका विभिन्न समाजमा कुकुरप्रति सम्मान, धार्मिक आशीर्वाद, समाधिस्थल निर्माण र भावनात्मक सम्बन्धका परम्परा पाइन्छन्। तथापि वर्षमा एक दिनलाई नै कुकुरको सम्मानका लागि समर्पित गरी सार्वजनिक रूपमा फूलमाला, टीका र पूजा गर्ने कुकुर तिहारको स्वरूप अत्यन्त विशिष्ट छ। यसको मौलिकता अरू संस्कृतिमा कुकुरलाई सम्मान गरिँदैन भन्ने कुरामा होइन, सम्मानलाई सामूहिक पर्वका रूपमा अभिव्यक्त गर्ने नेपाली अभ्यासमा निहित छ।

यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ- एक दिन कुकुरको पूजा गरेर बाँकी वर्ष त्यसलाई उपेक्षा गर्ने हाम्रो व्यवहारले पशुप्रतिको सम्मानको वास्तविक अर्थ पूरा गर्छ त? कुकुर तिहारको सान्दर्भिकता यही प्रश्नबाट अझ गहिरो हुन्छ।

धार्मिक परम्परामा कुकुरको स्थान

नेपाली हिन्दू परम्परामा कुकुरलाई घरको पहरेदार वा उपयोगी जनावरका रूपमा मात्र हेरिएको छैन। धार्मिक आख्यानमा पनि यसको विशिष्ट स्थान छ। वैदिक साहित्यमा यमराजसँग सम्बन्धित दुई कुकुरको उल्लेख पाइन्छ, जसलाई मृत्युलोक र परलोकबीचको मार्गसँग जोडेर व्याख्या गरिएको छ। महाभारतको अन्तिम यात्रामा युधिष्ठिरले स्वर्ग प्रवेशका क्रममा आफ्नो साथमा रहेको कुकुरलाई त्याग्न अस्वीकार गरेको प्रसङ्ग पनि पशुप्रतिको निष्ठा र करुणाको प्रतीकका रूपमा व्याख्या गरिन्छ।

त्यस्तै हिन्दू धार्मिक मान्यतामा कुकुरलाई भैरवको वाहनका रूपमा लिइन्छ। भैरवसँग सम्बन्धित धार्मिक स्थलहरूमा कुकुरलाई भोजन गराउने परम्परा पनि पाइन्छ। तिहारको दोस्रो दिन कुकुरलाई पूजा गर्नुको धार्मिक आधार यमराजसँग सम्बन्धित कुकुरको प्रतीकात्मक महत्त्वसँग जोडिएको छ। यसले कुकुरलाई मानव जीवनको सुरक्षा, निष्ठा र अदृश्य शक्तिसँग सम्बन्धित सांस्कृतिक प्रतीकका रूपमा स्थापित गरेको देखिन्छ।

धार्मिक प्रतीकको अर्थलाई केवल आस्थाको विषय मानेर छोड्नु उचित हुँदैन। यसले समाजले कुनै प्राणीलाई कसरी हेर्छ, त्यससँग कस्तो सम्बन्ध स्थापित गर्छ र त्यसप्रति कस्तो नैतिक जिम्मेवारी महसुस गर्छ भन्ने प्रश्न पनि उठाउँछ।

मानव सभ्यताको विकासमा कुकुरको भूमिका

मानव र कुकुरबीचको सम्बन्ध आधुनिक घरपालुवा जनावरको अवधारणाभन्दा धेरै पुरानो हो। पुरातात्त्विक प्रमाणले कुकुर र मानिसबीचको सम्बन्ध हजारौँ वर्षदेखि विकसित हुँदै आएको देखाउँछन्। प्रारम्भमा सिकार, सुरक्षा र बस्तीको निगरानीमा सहयोगी बनेका कुकुर क्रमशः मानव समुदायका सामाजिक तथा भावनात्मक साथी पनि बने।

अमेरिकी पुरातत्त्वविद् तथा मानव-कुकुर सम्बन्धका अध्येता डार्सी एफ मोरेको सन् २००६ मा जर्नल अफ आर्कियोलोजिकल साइन्समा प्रकाशित अनुसन्धान महत्त्वपूर्ण छ। ‘बरिइङ की एभिडेन्स : द सोसल बन्ड बिट्विन डग्स एन्ड पिपल’ शीर्षकको उक्त अध्ययनले विश्वका विभिन्न स्थानमा कुकुरलाई विधिपूर्वक गाड्ने परम्पराका पुरातात्त्विक प्रमाणको विश्लेषण गरेको छ। मोरेका अनुसार कुकुरलाई गाड्ने अभ्यासका प्रमाण करिब १२ हजारदेखि १४ हजार वर्षसम्म पुराना छन्। कतिपय अवस्थामा मानिसले मृत कुकुरलाई परिवारको सदस्यसरह अन्त्येष्टि गरेको प्रमाणसमेत भेटिन्छ। यसले मानिस र कुकुरबीचको सम्बन्ध उपयोगितामा आधारित नभई भावनात्मक तथा सामाजिक प्रकृतिको पनि रहेको देखाउँछ।

यसै विषयलाई आधुनिक युरोपेली समाजका सन्दर्भमा अध्ययन गरेका बेलायतको न्युक्यासल विश्वविद्यालयको इतिहास, शास्त्रीय अध्ययन तथा पुरातत्त्व विभागका अनुसन्धानकर्ता डा एरिक टुरिन्जीले सन् २०२० मा एन्टिकिटी जर्नलमा प्रकाशित आफ्नो अनुसन्धानमा बेलायतका घरपालुवा जनावरका समाधिस्थलको अध्ययन गरेका छन्। उनले भिक्टोरियन समयदेखि आधुनिक युगसम्मका समाधिले मानिसको पशुप्रतिको बदलिँदो दृष्टिकोण देखाउने निष्कर्ष निकालेका छन्। पछिल्ला दशकका समाधिले कुकुरलाई साथी वा उपयोगी जनावरभन्दा पनि परिवारको सदस्यका रूपमा स्वीकार गर्ने प्रवृत्ति बढेको देखाउँछन्।

यी अनुसन्धानले कुकुरप्रतिको सम्मान कुनै एक धर्म वा भूगोलमा सीमित छैन भन्ने देखाउँछन्। मानिसले कुकुरसँगको सम्बन्धलाई विभिन्न ऐतिहासिक कालखण्डमा भिन्नभिन्न सांस्कृतिक र धार्मिक स्वरूपमा अभिव्यक्त गरेको छ।

के कुकुरको पूजा गर्ने परम्परा नेपालमा मात्र छ?

कुकुर तिहारलाई विश्वमै कुकुरको सम्मानका लागि समर्पित विशिष्ट पर्वका रूपमा चिनाउन सकिन्छ। कुकुरको सम्मान, पूजा, आशीर्वाद वा स्मरण गर्ने परम्परा नेपालबाहिर पनि छन्। त्यसैले कुकुरको पूजा गर्ने संसारकै एकमात्र परम्परा नेपालमा छ भन्नु तथ्यगत रूपमा सही हुँदैन।

यस सन्दर्भमा अमेरिकाको वासिङ्टन स्टेट विश्वविद्यालयको मानवशास्त्र विभागका जेमी चेम्बर्स, मार्सा बी क्विन्लान, एलेक्सिस इभान्स र रोबर्ट जे क्विन्लानको अनुसन्धान उल्लेखनीय छ। उनीहरूको सन् २०२० मा जर्नल अफ इथनोबायोलोजीमा प्रकाशित ‘डग–ह्युमन कोइभोलुसन : क्रस-कल्चरल एनालिसिस अफ मल्टिपल हाइपोथेसिस’ शीर्षकको अध्ययनले एक सय ४४ विभिन्न संस्कृतिसँग सम्बन्धित आठ सय ४४ मानवशास्त्रीय अभिलेखको विश्लेषण गरेको छ। यसमा कुकुरले मानिसलाई दिने उपयोगिता, मानिसले कुकुरलाई दिने सहयोग र कुकुरलाई सामाजिक व्यक्तित्वका रूपमा स्वीकार गर्ने प्रवृत्तिको अध्ययन गरिएको छ। अनुसन्धानले मानव-कुकुर सम्बन्धको स्वरूप समाज, वातावरण, जीविकोपार्जन र सांस्कृतिक अभ्यासअनुसार भिन्न हुने देखाएको छ।

कुकुर तिहारका अवसरमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा कुकुरको पूजा गर्दै स्थानीयवासी।
तस्बिर : रासस

क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयको भौतिक उपचार विभागकी कासिया अन्जा-बर्गेस तथा साइमन फ्रेजर विश्वविद्यालय को पुरातत्त्व विभागका डाना लेपोफ्स्की र डोङ्या याङले सन् २०२० मा जर्नल अफ इथनोबायोलोजीमा प्रकाशित अनुसन्धानमा क्यानडाको दक्षिणपश्चिमी ब्रिटिस कोलम्बियाका उत्तरी कोस्ट सालिस समुदाय र कुकुरबीचको ऐतिहासिक सम्बन्ध अध्ययन गरेका छन्। उनीहरूले मौखिक परम्परा, अन्तरवार्ता, पुरातात्त्विक प्रमाण र प्राचीन डीएनएलाई एकसाथ विश्लेषण गरेका छन्। अनुसन्धानले कुकुर उक्त समुदायको सिकार, सुरक्षा, सामाजिक जीवन र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा रहेको देखाएको छ।

पश्चिमी समाजमा जनावरलाई धार्मिक रूपमा सम्मान गर्ने परम्परा छ। अमेरिकाको भर्जिनियास्थित सेन्ट जोन्स एपिस्कोपल चर्च रिचमन्डसँग आबद्ध अमेलिया ए विलमरले सन् २०१९ मा इन्टरप्रिटेसन जर्नलमा प्रकाशित ‘इन द सेन्चुरी अफ एनिमल्स : अनरिङ गड्स क्रिएचर्स थ्रु रिचुअल एन्ड रिलेसनसिप’ शीर्षकको लेखमा इसाई परम्परामा जनावरलाई आशीर्वाद दिने धार्मिक अभ्यासको ऐतिहासिक र समकालीन स्वरूपबारे चर्चा गरेकी छन्। विशेषगरी सेन्ट फ्रान्सिस अफ असिसीको स्मृति दिवसको आसपास चर्चहरूमा घरपालुवा जनावरलाई आशीर्वाद दिने कार्यक्रम सञ्चालन हुने गरेको उनले उल्लेख गरेकी छन्।

पोल्यान्डको जनपल द्वितीय क्याथोलिक विश्वविद्यालय, लुब्लिन का क्रिजिस्तोफ स्माइकोव्स्कीले सन् २०२३ मा स्टडिया वार्मिनिस्कि जर्नलमा प्रकाशित अनुसन्धानमा इसाई धर्ममा जनावरलाई आशीर्वाद दिने धार्मिक विधिको अध्ययन गरेका छन्। उनका अनुसार सेन्ट फ्रान्सिस अफ असिसी तथा सेन्ट रोकको स्मृति दिवसका अवसरमा जनावरलाई आशीर्वाद दिने धार्मिक कार्यक्रम सञ्चालन गर्ने परम्परा छ।

यी उदाहरणले संसारका विभिन्न धर्म र संस्कृतिमा जनावरप्रति सम्मान व्यक्त गर्ने धार्मिक अभ्यास रहेको स्पष्ट पार्छन्। तर सबै अभ्यासलाई एउटै अर्थमा ‘पूजा’ भन्न मिल्दैन। कतै जनावरलाई देवताको प्रतीक वा वाहनका रूपमा सम्मान गरिन्छ, कतै ईश्वरका सृष्टिका रूपमा आशीर्वाद दिइन्छ, कतै मृत जनावरको स्मृतिमा समाधिस्थल बनाइन्छ। त्यसैले कुकुर तिहारको विशिष्टता अरू समाजमा कुकुरप्रति सम्मान छैन भन्ने दाबीमा होइन, कुकुरलाई केन्द्रमा राखेर हरेक वर्ष सार्वजनिक रूपमा मनाइने सांस्कृतिक पर्वको स्वरूपमा छ।

नेपाली समाजको सांस्कृतिक विरोधाभास

नेपाली समाजमा जनावरप्रतिको सम्मानका अनेक धार्मिक र सांस्कृतिक अभ्यास छन्। गाईलाई लक्ष्मीका रूपमा पूजा गरिन्छ, कागलाई सन्देशवाहक मानिन्छ, कुकुरलाई भैरवको वाहनका रूपमा सम्मान गरिन्छ र नागलाई प्रकृति तथा जलस्रोतसँग जोडेर पूजा गरिन्छ। यी परम्पराले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई सांस्कृतिक रूपमा अभिव्यक्त गर्छन्।

पशुप्रतिको सम्मानका यी परम्परासँगै पशुबलि, उपेक्षा र क्रूरताका अभ्यास पनि समाजमा देखिन्छन्। यस विरोधाभासलाई नेपाली समाजको सन्दर्भमा अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसको मानवशास्त्र विभागका बिष्णु प्रसाद दाहालले सन् २०२० मा एड्भान्सेस इन एन्थ्रोपोलोजी जर्नलमा प्रकाशित डायलेक्टिक्स अफ स्याक्रिफाइसिङ एन्ड वर्सिपिङ एनिमल्स इन हिन्दू फेस्टिभल्स अफ नेपाल शीर्षकको अनुसन्धानमा विश्लेषण गरेका छन्। उनले नेपाली हिन्दू पर्वहरूमा पशुपूजा र पशुबलि सँगसँगै विद्यमान रहेको सांस्कृतिक द्वन्द्वलाई औँल्याएका छन्। उनको अध्ययनले धार्मिक मान्यता र व्यवहारबीचको अन्तरलाई बुझ्न मद्दत गर्छ।

यो विश्लेषण कुकुर तिहारका लागि पनि उत्तिकै सान्दर्भिक छ। एकातिर कुकुरलाई फूलमाला र टीका लगाएर सम्मान गरिन्छ, अर्कोतिर सडकमा रहेका कुकुरलाई ढुंगा हान्ने, कुट्ने, विष खुवाउने, घाइते अवस्थामा छाड्ने वा भोकै राख्ने व्यवहार पनि देखिन्छ। घरमा पालिएका कुकुरलाई समेत आवश्यक खोप, उपचार, पोषण र सुरक्षित वातावरण नदिने समस्या छ।

यसले एउटा आधारभूत प्रश्न उठाउँछ, धार्मिक कर्मकाण्ड र वास्तविक नैतिक व्यवहारबीच कति दूरी छ? पशुप्रतिको सम्मानलाई एक दिनको पूजामा सीमित राख्ने कि दैनिक जीवनको जिम्मेवारी बनाउने?

वैज्ञानिक दृष्टिकोण : कुकुर उपयोगी जनावर मात्र होइन

आधुनिक विज्ञानले कुकुर र मानिसबीचको सम्बन्धलाई जैविक, व्यवहारगत र सामाजिक दृष्टिले अध्ययन गरेको छ। कुकुरले मानिससँग लामो समयदेखि सहअस्तित्व कायम गरेको छ। मानिसको आवाज, हाउभाउ र व्यवहार बुझ्ने क्षमता, सामाजिक संकेतप्रति प्रतिक्रिया दिने प्रवृत्ति र मानिससँग सहकार्य गर्ने स्वभावका कारण कुकुर मानव समुदायसँग विशेष रूपमा अनुकूल भएको मानिन्छ।

कुकुरको भूमिका सुरक्षा र सिकारमा मात्र सीमित छैन। आज कुकुर दृष्टिविहीन व्यक्तिका सहयोगी, खोज तथा उद्धार कार्यका सहायक, प्रहरी तथा सुरक्षा निकायका कार्यकर्ता, चिकित्सकीय तथा मनोसामाजिक सहयोगका साथी र घरपरिवारका सदस्यका रूपमा पनि परिचित छन्। यसले कुकुरसँगको सम्बन्ध उपयोगिताबाट भावनात्मक सहअस्तित्वतर्फ विस्तार भएको देखाउँछ।

कुकुरप्रति माया गर्नु र त्यसको कल्याण सुनिश्चित गर्नु एउटै कुरा होइन। जनावरको कल्याणका लागि पर्याप्त खाना, स्वच्छ पानी, सुरक्षित आश्रय, आवश्यक उपचार, रोगबाट बचाउने खोप, पीडाबाट सुरक्षा र प्राकृतिक व्यवहार देखाउन पाउने वातावरण आवश्यक हुन्छ। यी आधारभूत पक्ष पूरा नगरी केवल धार्मिक रूपमा पूजा गर्नुले पशुप्रतिको जिम्मेवारी पूरा गर्दैन।

सडकका कुकुर : हाम्रो धार्मिक आस्थाको वास्तविक परीक्षा

नेपालका सहर तथा ग्रामीण बस्तीमा सडकका कुकुरको अवस्था पशु कल्याणको एउटा गम्भीर विषय बनेको छ। कतिपय कुकुर भोक, रोग, दुर्घटना, परजीवी र मानवीय दुर्व्यवहारका कारण पीडित छन्। कतिपयले उचित खोप नपाउँदा रेबिजजस्ता जनस्वास्थ्य समस्याको जोखिम पनि बढ्छ।

यसको समाधान कुकुरलाई सडकबाट हटाउने वा अमानवीय तरिकाले मार्ने होइन। स्थानीय सरकार, पशु चिकित्सक, पशु कल्याण संस्थाहरू र समुदायको सहकार्यमा मानवीय तथा वैज्ञानिक व्यवस्थापन आवश्यक छ। यसमा नियमित खोप, रेबिज नियन्त्रण, मानवीय बन्ध्याकरण, उपचार, जिम्मेवार पालना र सडकमा रहेका कुकुरको व्यवस्थित हेरचाह समावेश हुनुपर्छ।

घरमा कुकुर पाल्ने व्यक्तिले पनि त्यसलाई मनोरञ्जन वा प्रतिष्ठाको वस्तुका रूपमा मात्र हेर्नु हुँदैन। कुकुर पाल्नु भनेको दीर्घकालीन जिम्मेवारी स्वीकार गर्नु हो। त्यसलाई आवश्यक खाना, पानी, खोप, उपचार र सुरक्षित वातावरण उपलब्ध गराउनु पालकको नैतिक तथा व्यावहारिक दायित्व हो।

यसैगरी विद्यालय तहदेखि नै बालबालिकालाई जनावरप्रति करुणा, जिम्मेवारी र सहअस्तित्वको शिक्षा दिन आवश्यक छ। कुकुर तिहारलाई यस्तो शिक्षाको अवसरका रूपमा पनि उपयोग गर्न सकिन्छ।

कुकुर तिहारको वास्तविक सन्देश

कुकुर तिहारलाई धार्मिक विधि वा सांस्कृतिक मनोरञ्जनका रूपमा बुझ्नु यसको व्यापक अर्थलाई सीमित गर्नु हो। यो पर्वले मानिस र अन्य प्राणीबीचको सम्बन्धबारे पुनर्विचार गर्ने अवसर दिन्छ। मानिसले आफ्नो सभ्यता, प्रविधि र बौद्धिक क्षमताका आधारमा आफूलाई प्रकृतिको केन्द्रमा राखे पनि अन्य जीवप्रति जिम्मेवारीबाट मुक्त हुन सक्दैन।

कुकुरले मानिसलाई सुरक्षा दिएको छ, सिकारमा सहयोग गरेको छ, विपद्मा मानिसको खोजी गरेको छ र एक्लोपनमा साथी बनेको छ। तर यसको सम्मान यसले मानिसलाई दिएको सेवाका कारण मात्र हुनुपर्छ भन्ने होइन। कुनै पनि संवेदनशील प्राणीले पीडा अनुभव गर्न सक्छ भन्ने वैज्ञानिक तथा नैतिक बुझाइले पनि यसको संरक्षण र कल्याणको आवश्यकता देखाउँछ।

कुकुर तिहारको दिन फूलमाला लगाइदिनु राम्रो सांस्कृतिक अभ्यास हो। तर त्यस दिनपछि पनि कुकुरलाई भोकै नराख्नु, बिरामी हुँदा उपचार गराउनु, सडकमा रहेका कुकुरमाथि हिंसा नगर्नु, रेबिजविरुद्ध खोप लगाउनु र जिम्मेवार रूपमा पाल्नु अझ ठूलो सम्मान हो। पूजा र व्यवहारबीचको दूरी घटाउन सके मात्र यो पर्वको सामाजिक तथा नैतिक मूल्य बलियो हुन्छ।

कुकुर तिहारलाई विश्वमै कुकुरको सम्मान गर्ने एकमात्र परम्परा भनेर प्रस्तुत गर्नुभन्दा नेपाली समाजले विकास गरेको विशिष्ट सांस्कृतिक अभ्यासका रूपमा बुझ्नु बढी वैज्ञानिक र विश्वसनीय हुन्छ। संसारका अन्य समाजमा पनि कुकुरप्रतिको सम्मानका भिन्नभिन्न अभ्यास छन्। नेपाली तिहारमा कुकुरलाई छुट्टै दिन समर्पित गरी सार्वजनिक रूपमा पूजा गर्ने परम्पराले हाम्रो सांस्कृतिक पहिचानलाई विशेष बनाएको छ।

कुकुर तिहारको वास्तविक सफलता त्यस दिन कुकुरपूजा गर्नुमा मात्र होइन, वर्षभरि त्यसको जीवन सुरक्षित, स्वस्थ र सम्मानित बनाउनुमा छ। धर्मले सिकाएको करुणा व्यवहारमा देखिन सके मात्र पूजा संस्कारबाट संस्कृतिमा र संस्कृतिबाट मानवीय सभ्यतामा रूपान्तरण हुन्छ।

प्रकाशित: २२ कार्तिक २०८३ १६:५९ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast