पोल्याण्ड- पोल्याण्डको क्राको सहरस्थित मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। २५ वर्षीय आक्रमणकारी अति-दक्षिणपन्थी तथा अति-राष्ट्रवादी विचारधाराबाट प्रभावित भएको पोल्याण्ड प्रहरीले जनाएको छ।
पोल्याण्डका रक्षामन्त्री व्लादिस्लाव कोसिनियाक-कामिस्जले ‘आतंकवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको जनाए। आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन्।
गृहमन्त्री मार्सिन किएरविन्स्कीको भनाइमा आक्रमणकारी अत्यन्त कट्टर र अति-राष्ट्रवादी विचार राख्ने व्यक्ति हुन्। ‘सबै कुराले उनी अति-दक्षिणपन्थी विचारधाराबाट प्रभावित थिए भन्ने देखाउँछ,’ उनले पत्रकार सम्मेलनमा भने।
प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमण भएको केही घण्टापछि आक्रमणकारीको घरबाट उनका तीन जना नजिकका नातेदारको शव फेला परेको जानकारी दिए। ती शव ओस्ट्रोभिएच स्विएन्तोक्रिज्स्की सहरस्थित घरमा भेटिएका थिए। मृतकमध्ये दुई महिला र एक पुरुष छन्।
क्राकोमा भएको आक्रमणमा चार महिला र दुई पुरुषको मृत्यु भएको छ। मृतकमध्ये कम्तीमा तीन जना पोलिश र एक जना बेलायती नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अन्य दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको छ।
घाइतेमध्ये १३ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। आक्रमणकारीको पनि शल्यक्रिया गरिएको छ। घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको प्रहरी कमाण्डर मारेक बोरोनले बताए। दुई प्रहरी अधिकारीसमेत गम्भीर घाइते भएका छन्।
प्रहरी प्रवक्ता कातारजिना सिस्लोका अनुसार आक्रमणकारीले सैनिक पोसाकजस्तो कपडा र बुलेटप्रुफ भेस्ट लगाएका थिए। उनको गाडीबाट थप हतियार र गोलीगठ्ठा बरामद भएको छ। प्रारम्भिक अनुसन्धानमा उनी एक्लैले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।



