तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड

हिमाल प्रेस २२ कार्तिक २०८३ ९:१६ | Sunday, November 8, 2026
8
SHARES
तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड

काठमाडौँ- तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड दिएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले तिहार तथा देउसी भैलोको सांस्कृतिक महत्त्वबारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको अध्ययन गरी प्रचारप्रसार गर्नुपर्ने बताएका हुन् ।गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिने तिहारले सबै प्राणी र पारिवारिक सम्बन्धको महत्त्व उजागर गर्ने बताए । यसको मौलिक पक्ष नयाँ पुस्तासम्म पुर्‍याउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव प्रा डा नवराज कट्टेलले प्रकृति र सबै प्राणीप्रति सम्भावना राख्न सिकाउने तिहारजस्ता पर्वको सन्देश पत्रकारितामार्फत प्रवाह गर्नुपर्ने बताए । यस्ता पर्वले सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ बनाउन पनि योगदान गर्ने उनले उल्लेख गरे ।

पूर्वमन्त्री एवं संस्कृतिविद् डा कान्ता भट्टराईले काग, कुकुर, गाई र गोरुको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको भन्दै तिहारको सांस्कृतिक सन्देश बुझाउनुपर्ने बताइन्।

संस्कृतिविद् प्रा डा ध्रुवप्रसाद भट्टराईले कागलाई नैतिक शिक्षा र न्यायसँग जोडेर हेर्ने परम्परा रहेको उल्लेख गर्दै तिहारका विभिन्न सांस्कृतिक पक्षको खोज तथा व्याख्या आवश्यक रहेको बताए ।

रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले संस्थाले दोस्रो वर्ष पनि तिहार र देउसी भैलोको सांस्कृतिक महत्त्वबारे बहस आयोजना गरेको जानकारी दिए ।

धार्मिक तथा सांस्कृतिक पत्रकारिताको संस्थागत विकासका लागि पुस्तकालय तथा स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले रेक्जोनले देउसीभैलो कार्यक्रम सुरु गरेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा अलका लम्साल रेग्मीले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०८३ ९:१६ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast