काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन्।
शनिबार काठमाडौँमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताए।
उनले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्त गरिएको समेत उल्लेख गरे।
वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्टी व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे। सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए।
प्रचण्डले सुशासनका विरुद्ध लड्दा आफूहरुलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राखे। उनले कर्णालीको विकासका लागि आफूले विगतदेखि नै काम गरेको र शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा निकै प्रगति भएको बताए।



