काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचनले नेपालमा क्षयरोग (टीबी) नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
इन्डोनेसियाको बालीमा नोभेम्बर ३ देखि ५ सम्म आयोजित ग्लोबल टीबी ककस तथा ग्लोबल हेल्थ ककसको संयुक्त आयोजनामा भएको एसिया-प्रशान्त क्षेत्रीय स्वास्थ्य तथा वित्त समितिका सभापतिहरूको बैठकमा सहभागी हुँदै सभापति शेरचनले नेपालमा क्षयरोगको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखिएभन्दा गम्भीर हुन सक्ने बताएकी हुन्।
उनका अनुसार नेपालमा कुल क्षयरोगका बिरामी र यसबाट हुने मृत्युमध्ये झन्डै ६५ प्रतिशत पुरुष छन्। तर सरकारी तथ्यांकले अस्पतालमा उपचारका लागि दर्ता भएका बिरामीलाई मात्र समेट्ने भएकाले समुदायमा रहेका धेरै क्षयरोगका बिरामी पहिचान हुन सकेका छैनन्।
पहिचान हुन नसकेका बिरामीका कारण संक्रमण फैलिने जोखिम बढिरहेको बताउँदै उनले लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन द्रुत परीक्षण (स्क्रिनिङ) र अत्याधुनिक निदान उपकरणको आवश्यकता औँल्याएकी छन्।

बाली बैठकमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स-रेमार्फत लक्षण नदेखिएका बिरामीसमेत पहिचान गर्ने तथा उच्च जोखिममा रहेका समुदायमा तत्काल परीक्षण गर्न सकिने प्वाइन्ट अफ केयर टेस्टिङ प्रविधिको प्रयोगबारे विस्तृत छलफल भएको उनले जानकारी दिएकी छन्।
बैठकमा क्षयरोग नियन्त्रणका लागि आवश्यक आधुनिक प्रविधि र स्वास्थ्य अभियान सञ्चालन गर्न अर्थ मन्त्रालयबाट पर्याप्त बजेट सुनिश्चित गर्न आइपर्ने व्यावहारिक कठिनाइका विषयमा पनि सांसदहरूले छलफल गरेका थिए।
अन्य आकस्मिक तथा अत्यावश्यक राष्ट्रिय आवश्यकताबीच स्वास्थ्य क्षेत्रमा आवश्यक बजेटको व्यवस्था कसरी गर्ने भन्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
बैठकको दोस्रो दिन डा.शेरचनसहित सहभागी सांसदहरूलाई इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले दिवाभोजका लागि आमन्त्रण गरिन्। सो अवसरमा विभिन्न देशका सांसदहरूले आ-आफ्नो देशको स्वास्थ्य अवस्था, स्वास्थ्य नीति, क्षयरोग नियन्त्रणका प्रयास र चुनौतीबारे धारणा आदानप्रदान गरेका थिए।
बैठकका क्रममा डा.शेरचनले इन्डोनेसियाका अर्थमन्त्री सुहासिल नजरा, ग्लोबल टीबी ककसका अध्यक्ष तथा बेलायतको हाउस अफ लर्ड्सका सदस्य लर्ड निक हर्बर्टसँग भेट गरिन्। त्यसैगरी उनले विभिन्न देशका महिला सांसदहरूसँग पनि छुट्टाछुट्टै भेट गरी छलफल तथा अनुभव आदानप्रदान गरेकी थिइन्।
एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशका सांसदहरूबीच स्वास्थ्य तथा वित्त नीतिसम्बन्धी अनुभव र अभ्यास आदानप्रदान गर्न बैठक फलदायी र सिकाइपूर्ण रहेको सभापति शेरचनले बताएकी छन्।

नेपालका तर्फबाट डा.शेरचनसँगै प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकी, विश्व क्षयरोग नियन्त्रक नेपालका प्रतिनिधि मधुसूदन काफ्ले र निमाट ग्लोबलकी अध्यक्ष डा.रञ्जिता धिताल सहभागी थिए।
यसअघि अक्टोबर ९ मा नेपालका प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको संयुक्त बैठकले राष्ट्रिय क्षयरोग ककस गठन गर्ने तथा क्षयरोग नियन्त्रणका लागि आन्तरिक स्रोत परिचालन बढाउने विषयमा छलफल गरेको थियो । उक्त बैठकमा पनि डा.शेरचन र डा.कृष्णहरि बुढाथोकी सहभागी थिए।




