बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना। फाइल तस्बिर
ढाका- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याएकी छिन्।
सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताइन्।
प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त घटनामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो। हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन्।
बंगलादेशले पटकपटक सुपुर्दगी मागे पनि भारतले उनलाई हस्तान्तरण गरेको छैन। एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताइन्। स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ।
हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो। गत फेब्रुअरीमा भएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आएका थिए।
विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्ने अवस्था नरहेको बताउँदै हसिनाले बंगलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता गरिन्।
अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसङ्ख्यकमाथिको धम्कीप्रति चिन्ता जनाउँदै आएका छन्।
युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो। वर्तमान सरकारले बिग्रँदो कानून तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ।



