एनपीएल

बलिङ नै लुम्बिनीको शक्ति, ब्याटिङ परीक्षण हुन बाँकी

हिमाल प्रेस १८ कार्तिक २०८३ ७:५४ | Wednesday, November 4, 2026
4
SHARES
बलिङ नै लुम्बिनीको शक्ति, ब्याटिङ परीक्षण हुन बाँकी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल

काठमाडौँ- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीको ब्याटिङ पक्ष पनि बलियो अवस्थामा रहेको दाबी गरेका छन्।

अहिलेसम्म टोलीको ब्याटिङले ठूलो परीक्षा दिन नपाए पनि अभ्यासमा खेलाडीहरूले देखाएको प्रदर्शनका आधारमा आफूहरू पूर्ण रूपमा विश्वस्त रहेको उनले बताएका छन्।

बुधबार पोखरा एभन्चर्सलाई ८ विकेटले पराजित गरेपछि आयोजित पोस्ट म्याच पत्रकार सम्मेलनमा कप्तान पौडेलले टोलीको प्राथमिकता व्यक्तिगत प्रदर्शनभन्दा पनि जित रहेको बताए। उनले टिम प्लेअफमा सुरक्षित भएपछि मात्र सबै खेलाडीलाई ब्याटिङमा अवसर दिने र त्यसपछि प्लेअफका लागि तयारी गर्ने योजना रहेको सुनाए।

‘अहिलेसम्म हाम्रो ब्याटिङ टेस्ट भएको छैन। आशा छ, नहोस् पनि। तर यदि ब्याटिङको परीक्षा दिनुपर्ने अवस्था आयो भने पनि हामी तयार छौँ। अभ्यासमा जोरा र समिमलगायत सबैले राम्रो ब्याटिङ गरिरहेका छन्। सबैजना राम्रो लयमा हुनुहुन्छ र हामी विश्वस्त छौँ,’ पौडेलले भने।

प्रतियोगिताको आधा यात्रा पूरा हुँदासम्म अपराजित रहेको लुम्बिनीले अहिलेसम्म ब्याटिङमा ठूलो दबाब सामना गर्नुपरेको छैन। लगातार राम्रो बलिङ र विपक्षी टोलीलाई कम स्कोरमा सीमित राख्न सफल हुँदा लुम्बिनीको ब्याटिङलाई लामो समय क्रिजमा टिकेर खेल्ने अवसर कम मिलेको छ। यसले गर्दा टोलीका केही ब्याटरले अझै आफ्नो क्षमता देखाउने पर्याप्त अवसर पाएका छैनन्।

तर कप्तान पौडेलले खेलाडीलाई अवसर दिनकै लागि टिमको जितसँग सम्झौता नगर्ने प्रस्ट पारे। उनका अनुसार प्लेअफमा स्थान सुरक्षित हुनु र टोलीलाई राम्रो अवस्थामा राख्नु अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो।

‘सबैभन्दा महत्वपूर्ण कुरा टिमले जित्नु हो। टिमलाई राम्रो पोजिसनमा राख्नुपर्छ। कसैले ब्याटिङ गर्ने अवसर पाएन भने पनि त्यो ठीक छ। टिम फर्स्ट हो। प्लेअफमा स्थान सुनिश्चित भएपछि सबैलाई अवसर दिने र प्लेअफका लागि तयार हुने हाम्रो योजना छ,’ उनले भने।

लुम्बिनीको ब्याटिङलाई थप स्थिरता दिन नेपाली राष्ट्रिय टोलीका अनुभवी ब्याटर आसिफ शेखको आगमन महत्वपूर्ण भएको पनि पौडेलले बताए। आसिफले राष्ट्रिय टोलीबाट पाँच छदेखि सात वर्षसम्मको अनुभव बटुलेको उल्लेख गर्दै उनले शीर्षक्रममा स्थिरता र अनुभव थपिएको बताए।

‘आसिफले आफ्नो अनुभव लिएर आउनुभएको छ। हामीले अक्सनदेखि नै सुधार गर्न खोजेको क्षेत्र शीर्षक्रमको ब्याटिङ थियो। उहाँ आएपछि टप अर्डरमा स्टेबिलिटी आएको छ। उहाँको उपस्थितिले घरेलु खेलाडीहरू पनि अझ बलिया भएका छन्,’ पौडेलले भने।

आसिफको आगमनसँगै किशोरको उपस्थितिले टोलीको बलिङ आक्रमण पनि थप बलियो बनेको उनको भनाइ थियो। अक्सनमा राम्रो संयोजन बनाउन सफल भएको लुम्बिनीले मैदानमा पनि त्यसलाई प्रमाणित गरिरहेको उनले बताए।

कप्तान पौडेलले लुम्बिनीको सबैभन्दा बलियो पक्ष बलिङ रहेको बताएका छन्। गत सिजनदेखि नै टोलीको बलिङ एकाइ निरन्तर राम्रो प्रदर्शन गर्दै आएको र यस सिजनमा थप सुधार भएको उनको भनाइ छ।

पछिल्ला तीन खेलमा विपक्षी टोलीले १०० रनको आँकडा पार गर्न नसकेको सन्दर्भमा उनले बलरहरूको निरन्तरता, अनुशासन र सामूहिक प्रयासलाई सफलताको मुख्य आधारका रूपमा व्याख्या गरे।

‘गत सिजन पनि हामीले १३५ रन डिफेन्ड गरेर विपक्षी टोलीलाई ९० रनमा अलआउट गरेका थियौँ। गत सिजनदेखि अहिलेसम्म हाम्रो बलिङ युनिट निकै कन्सिस्टेन्ट र इम्प्रुभ भएको छ। यसको श्रेय बलरहरूलाई नै जान्छ,’ उनले भने।

उनले ट्रम्पलम्यान, अविनाश र तिलकको प्रदर्शनको विशेष प्रशंसा गरे। खेलको दिन बिहान मात्रै फ्लाइटमार्फत आइपुगेका ट्रम्पलम्यानले समेत टोलीका लागि राम्रो योगदान दिएको भन्दै पौडेलले उनको प्रतिबद्धताको प्रशंसा गरे।

त्यस्तै, बेन्चमा रहेका अविनाशले मौका पाउनेबित्तिकै राम्रो बलिङ गर्दै टोलीलाई योगदान दिएको र तिलकले निरन्तर राम्रो प्रदर्शन गरिरहेको उनले बताए।

पौडेलका अनुसार लुम्बिनीको बलिङ आक्रमण सन्तुलित छ र यही पक्षले टोलीलाई लगातार सफलता दिलाइरहेको छ।

लुम्बिनीको बलियो पक्ष खेल्ने ११ खेलाडी मात्र नभई बेन्चमा रहेका खेलाडीको योगदान पनि रहेको पौडेलले बताए। आकाश, अर्ने कुइपर र दिलीप नाथजस्ता खेलाडीले अवसरको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उनले बेन्चमा रहेका खेलाडीको क्षमतालाई पनि उत्तिकै महत्वपूर्ण माने।

‘गुड हेडेक टु ह्याभ ! सबैजना आफ्नो अवसरको प्रतीक्षामा हुनुहुन्छ। बेन्चमा बस्ने खेलाडी पनि उत्तिकै सक्षम हुनुहुन्छ। उहाँहरूले पनि टिमलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ,’ उनले भने।

उनले खेल मैदानबाहिर रहेर पनि टोलीलाई सहयोग गरिरहेका नेपाली तथा विदेशी खेलाडीको प्रशंसा गरे। विशेषगरी ग्रान्ट स्टुअर्ट र स्याड्लीले खेल्ने अवसर नपाउँदा पनि टोलीलाई निरन्तर सहयोग गरिरहेको उनले बताए।

‘उहाँहरूले मैदानबाहिरबाट पनि जुन हिसाबले टिमलाई सपोर्ट गरिरहनुभएको छ, त्यो महत्वपूर्ण छ। विदेशी र नेपाली सबै खेलाडीले टोलीलाई साथ दिनुभएको छ। उहाँहरू पनि टिम म्यान हुनुहुन्छ। उहाँहरूलाई पनि क्रेडिट जान्छ,’ पौडेलले भने।

प्रतियोगिताका क्रममा अन्य टोलीका विदेशी खेलाडी विभिन्न व्यावसायिक प्रतिबद्धताका कारण बीचमै बाहिरिने गरेको सन्दर्भमा लुम्बिनीका कप्तानले आफ्नो टोलीका सबै विदेशी खेलाडी प्रतियोगिताभर रहने गरी प्रतिबद्ध रहेको बताए।

उनका अनुसार टोलीमा रहेका विदेशी खेलाडीले प्रतियोगिताभर पूर्ण समय दिने प्रतिबद्धता जनाएका छन्। सबै खेलाडीको आपसी समझदारी र टिमप्रतिको समर्पणले टोलीको वातावरण राम्रो बनेको उनको भनाइ थियो।

खेलमा टसको प्रभावबारे सोधिएको प्रश्नमा पौडेलले वर्तमान परिस्थितिमा पिचको व्यवहार अनुमान गर्न कठिन भइरहेको बताए। त्यसैले टसले केही प्रभाव पार्ने भए पनि टोलीले देखाइरहेको निरन्तर प्रदर्शनका कारण टसलाई निर्णायक मान्न नसकिने उनको धारणा थियो।

‘टस महत्वपूर्ण त हुन्छ, तर हामीले गत सिजनदेखि अहिलेसम्म जसरी राम्रो क्रिकेट खेलिरहेका छौँ, त्यसले गर्दा टसले त्यति धेरै फरक पार्छ जस्तो लाग्दैन। अहिलेको अवस्थामा विकेट कस्तो खेल्छ भनेर अनुमान गर्न गाह्रो छ। आजको विकेट भने डिसेन्ट थियो,’ उनले भने।

उनले गत सिजनदेखि कायम राखेको लयलाई आगामी खेलमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे।

जारी एनपीएलमा बुधबार रेस्ट डे रहेकाले कुनै खेल तालिका छैन।

प्रकाशित: १८ कार्तिक २०८३ ७:५४ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast