काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी गराउन रजिस्ट्रेसन फाराम भर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।
बोर्डले नियमित माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने विद्यार्थीको रजिस्ट्रेसन फाराम भर्ने व्यवस्था मिलाउन सूचना जारी गरेको हो। सूचनाअनुसार विद्यालयहरूले २०८३ साल कात्तिक ९ गतेदेखि मंसिर १३ गतेसम्म विद्यार्थीको रजिस्ट्रेसन फाराम भर्न सक्नेछन्।
विद्यालयहरूले परीक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा लगइन गरी ‘Manage Exam’ मा रहेको Registration Form मा क्लिक गरेर फाराम भर्नुपर्नेछ। त्यसपछि विद्यार्थीको जन्मदर्ता प्रमाणपत्रअनुसार नाम, थर, जन्ममिति लगायतका विवरण रुजु गरी फाराम भर्नुपर्ने बोर्डले जनाएको छ।
फाराम भर्नुअघि विद्यार्थीको विवरणमा कुनै त्रुटि भएमा आवश्यक संशोधन गर्नुपर्नेछ। विद्यालयले विद्यार्थी तथा अभिभावकबाट रुजु गराई फाराममा हस्ताक्षरसमेत गराउनुपर्ने सूचनामा उल्लेख छ।
बोर्डका अनुसार रजिस्ट्रेसन फाराम भरेबापत प्रति विद्यार्थी ३०० रुपैयाँ शुल्क लाग्नेछ। उक्त शुल्क २०८३ साल मंसिर १८ गतेभित्र तोकिएको राजस्व शीर्षकमा दाखिला गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ।
शिक्षा विकास तथा समन्वय एकाइहरूले विद्यालयबाट प्राप्त फाराम रुजु गरी IEMIS मार्फत रजिस्ट्रेसन नम्बर उत्पादन गर्नुपर्नेछ। त्यसपछि प्रमाणित फारामको एक प्रति विद्यालयमा पठाउने र अर्को प्रति कार्यालयमा सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्नेछ।
बोर्डले विद्यालय, स्थानीय तहका शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय एकाइलाई निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।




