काठमाडौँ- खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार-२०८२ कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ लाई प्रदान गरेको छ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित विशेष समारोहमा प्रतिष्ठानका अध्यक्ष एवं लेखक जीवा लामिछानेको उपस्थितिमा पुरस्कार अर्पण गरिएको हो।
प्रतिष्ठानले साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्रा. डा. जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ।
पुरस्कार तथा सम्मानको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको राशि आगामी वर्षदेखि जनही चार लाख रुपैयाँ पुर्याउने घोषणा अध्यक्ष एवं उद्यमी लामिछानेले गरे।
प्रतिष्ठानमा २०८२ सालमा प्रकाशित कुल १९२ साहित्यिक पुस्तक प्राप्त भएका थिए।
तीमध्ये विस्तारित सूचीमा १५ र संक्षिप्त सूचीमा पाँच कृति परेकामा मूल्यांकन समितिले ‘सलह’ लाई उत्कृष्ट ठहर गरी पुरस्कारका लागि चयन गरेको हो।
प्रतिष्ठानका अनुसार ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
कृतिको काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति-चित्रण र मार्मिक कथनशैलीलाई प्रमुख शक्ति मानिएको छ।
यसले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावशाली रूपमा स्थापित गरेको प्रतिष्ठानले जनाएको छ।
भोजपुरको दिल्पामा २०२५ साल जेठ २६ गते जन्मिएका मुकारुङ चार दशकभन्दा लामो समयदेखि कविता, गीत र नाटकमा सक्रिय छन्।
उनको ‘बिसे नगर्चीको बयान’ कविताले उनलाई व्यापक चर्चामा ल्याएको थियो। सीमान्तकृत र उत्पीडित वर्गको आवाज उठाउने स्रष्टाका रूपमा चिनिने मुकारुङले पहिलो आख्यान ‘सलह’ बाटै यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्।
नेपालयबाट प्रकाशित करिब ४४० पृष्ठको यो उपन्यासमा मूल पात्र नायुमामार्फत महिला जीवनसंघर्ष, विरोधाभास र पहिचानका प्रश्न उठाइएको छ।
मुकारुङले ‘सलह’ शब्दलाई बिम्बका रूपमा प्रयोग गर्दै सामान्यतया विनाश र अँध्यारोसँग जोडिने अर्थलाई नयाँ आयाम दिएका छन्।
उपन्यासमा किराँती सभ्यता, स्वैरकल्पना र अतियथार्थका तत्व पनि मिश्रित छन्। यो कृति मदन पुरस्कार र कविडाँडा आख्यान पुरस्कारको छनोट सूचीमा पनि परेको थियो।

पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली साहित्यमा सक्रिय आख्यानकार धरावासीलाई प्रदान गरिएको छ।
उनको वास्तविक नाम कृष्णप्रसाद भट्टराई हो। २०१७ साल साउन २ गते पाँचथरको अमरपुरमा जन्मिएका धरावासीले ‘राधा’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।
‘शरणार्थी’, ‘आधा बाटो’ लगायत ३२ भन्दा बढी कृतिका लेखक उनी लीला लेखनका व्याख्याताका रूपमा पनि चिनिन्छन्।
उनको कथा ‘झोला’ चलचित्रमा रूपान्तरण भएको छ। सामाजिक यथार्थ, मानवीय मनोविज्ञान र इतिहासका उपेक्षित पक्षलाई उनले आफ्ना सिर्जनामा निरन्तर प्रस्तुत गर्दै आएका छन्।

पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिएको छ। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता, साहित्यकार तथा कूटनीतिका अध्येता आचार्य कांग्रेस सरकारले १९९१ मा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिका रूपमा पठाएकाे थियो। उनले दुई वर्ष र केही महिना त्यहाँ काम गर्ने अवसर पाए।
उनले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपालको परराष्ट्र मामिलासम्बन्धी साना ठूला दर्जन कृति लेखेका छन्। ‘यदुनाथ खनालः जीवनी र विचार’ लगायतका कृति तथा भानुभक्त आचार्यको रामायणको अनुवादमार्फत उनले नेपाली विचारलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनका व्यवसायी तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्ना पिता खेमलाल र माता हरिकलाको सम्झनामा स्थापना गरेका हुन्।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यका उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ भने २०६७ सालदेखि पद्मश्री साधना सम्मान र पछि पद्मश्री गौरव पुरस्कार पनि प्रदान गर्दै आएको छ।
कार्यक्रममा अध्यक्ष लामिछानेले सम्मानित स्रष्ठाहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरुको योगदानबारे चर्चा गरेका थिए।
डा. ज्ञानु पाण्डेले समग्र साहित्य र स्रष्टाबारे प्रवचन दिएकी थिइन्।
सम्मानित भएकाहरूले पनि धन्यवाद दिँदै थप हाैसला मिलेको बताएका थिए। कार्यक्रममा उद्यमी साहित्यकार गैरआवासीय नेपाली पत्रकारको उल्लेख्य उपस्थिति थियो।



