पोखरा– पोखरामा मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने सातजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा पृथ्वीराजमार्ग भएर चल्ने सवारीसाधनका चालकलाई जाँच गर्दा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौँडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा एकजना चालकले मादक पदार्थ र ६ जना चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको कास्की प्रहरीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । सार्वजनिक सवारीसाधनका चालकले मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउँदा यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भएकाले प्रहरीले नियमित जाँचलाई तीव्रता दिने उनले बताए ।



