एक दिन फेसबुक स्क्रोल गर्दै गर्दा मेरा आदरणीय काकाले पोस्ट गरेको एउटा तस्बिरमा मेरा आँखा टक्क अडिए। त्यो तस्बिर थियो- गुल्मी जिल्लास्थित मदाने-७ मा रहेको दीपक माध्यमिक विद्यालय।
त्यस विद्यालयमा कक्षा एकदेखि सातसम्म अध्ययन गरी म करिब छत्तीस वर्ष पहिले बाहिरिएको थिएँ। उक्त विद्यालय रहेको गाउँ मेरो जन्मभूमि पनि हो। तत्कालै त्यस तस्बिरलाई मसँगै बसिरहेको कक्षा पाँचमा अध्ययनरत मेरो छोरालाई देखाएँ। उसले धेरै अंग्रेजी र थोरै नेपाली भाषाका शब्दहरू मिश्रित गर्दै ओ!बाबा, हजुरले पढेको स्कुल कति ब्युटिफुल रहेछ है भन्दै अचम्मै मानेर प्रतिक्रिया दियो।
मैले उसलाई बाबू! तिमीले के अर्थमा ब्युटिफुल देख्यौ भनेको त उसले त्यहाँको प्राकृतिक सौन्दर्य, विद्यालयको भवन र भूबनोटलाई देखेर अचम्म मानेछ। हुन त मेरो छोरो नेपालमै जन्मेर करिब एक दशक पहिले अमेरिका आएको थियो। उसको सोचाइमा नेपालको दुर्गम गाउँको स्कुल सामान्य कच्ची भवन अनि सडक पनि पुगेको छैन होला भन्ने लागेको रहेछ तर जब त्यो तस्बिर देख्यो अनि मैले तस्बिरसँग सम्बन्धित अन्य धेरै कुराहरू चिनारी गराउँदै विद्यालयको मेरो जन्मभूमि र त्यस विद्यालयको इतिहासका बारेमा केही जानकारी गराएँ।
त्यस विद्यालयको पूर्व प्राचार्य तिम्रो हजुरबुवा नै हुनुहुन्थ्यो नि भनेको त त्यस कुराले अझै उसको बालमस्तिष्कमा जिज्ञासा र कुतूहल जागेछ अनि उसले अचेल बारम्बार भन्न थालेको छ- बाबा! नेपाल जाऔँ न।
छोराले नेपालको दुर्गम गाउँको प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनको बारेमा कहीँ अंग्रेजी भाषाको युट्युब भिडियो हेरेको रहेछ। उसले गाउँको चिनारी भनेको गाउँ नै हुनु हो भन्दै स्पष्टीकरण नै दियो।
उसले त पाखा, पखेरा, ओराली, उकाली, वनजङ्गल, खोलानाला, झर्ना, खेतीपाती, जडिबुटी, गाईबस्तु आदि हुनु नै गाउँका पहिचान र विशेषता हुन् भन्न थाल्यो। उसले भौतिक पूर्वाधारका सबै कुराहरू भए भने त त्यो त सहर भैहाल्यो भन्यो। बाबा! अब नेपाल जाने मन छ भन्दै छोरो नेपाल फर्कन उत्साहित भएको छ। मैले पनि उसकै भाषामा ओके, ‘वि विल गो सुन’ भनेर आस देखाएको छु। मेरो र छोराको त्यो जन्मभूमि फर्कन, त्यो सुन भन्ने समय कहिले आउने होला, पर्खाइमा छौँ। मेरो त्यो ‘सुन’ मैले छोरालाई लैजाने बेलाको हुने हो कि छोराले नै मलाई लैजाने बेलाको हुने हो, त्यो भने समयको गर्भमा नै छ।
मेरो जन्मभूमिकै विद्यालय र त्यहाँ वरिपरिको सडक सञ्जालको त्यो तस्बिर हेर्दा नै गाउँमा विकास चाहिँ भएको छैन भनेर पत्याउन सकिँदैन। अहिले हिसाब गर्दा नै पनि मैले त्यो गाउँ नै छोडेको पनि करिब २५ वर्ष हुन लागेछ। मैले तकालै गाउँमा हुनु भएको एकजना काकालाई फोन गरेँ। उहाँले सुविधाका कुरा त गर्नुभयो तर आफ्ना सन्तान साथमा नरहेकोको पिरलो र बालीमा बाँदर र बँदेलले दु:ख दिएको कुरा गर्नुभयो।
विगतका पैँतीस वर्षमा अर्थात् प्रजातन्त्र पुनर्बहालीदेखि २०८२ सम्म देशमा केही भएको र हुँदै नभएको भन्ने बारेमा नेपाली राजनीति, समाज, सञ्चार, सञ्जाल निकै मतविमत भएको पनि सुनिन्छ।
एकथरीले विगत पैँतीस वर्षमा नेपालका नेताहरूले देशलाई खत्तम पारे, सत्यानाश गरे, केही जो गरेनन् भन्नेछन् भने अर्कोथरीले केही गरिएको थियो तर जति गर्नुपर्ने हो त्यति नभएको मात्र हो भन्नेछन्।
मेरो भने दोस्रोमा सहमत छ। मेरा विगतका आलेखहरूमा पनि विगत पैँतीस वर्षमा भ्रष्टाचारले देश खत्तम त पारे भनेकै छु तर निरपेक्ष रुपमा केही जो गरेकै छैनन् भनेर भनेको छैन।
भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा जेन्जी आन्दोलन/विद्रोह हुँदा २०८२ भदौ २३ र २४ मा देशले ठूलो जनधनको क्षति बेहोर्नुपर्यो। गत २१ फागुनमा २०८२ मा भएको निर्वाचनमा एउटा अनपेक्षित परिणाम आयो। यस परिणामबाट नेपालको सुशासन र विकास अनि भ्रष्टाचार अन्त्यको सवालमा नयाँ आस लागेको थियो तर त्यो आशाबाट फल प्राप्त गर्नका लागि भने शुभसंकेत देखिएका छैनन्।
पुरानाका विरुद्धमा निकै उग्र भएर आएका नयाँहरूले मानौँ देश अहिले शून्य नै भएजस्तै गरी पुराना भन्नेलाई दोष लगाएर अल्मलिएका देखिन्छन्। वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले देशमा बनिसकेका सबै किसिमका सामाजिक, राजनीतिक, आर्थिक, भौतिक आदि संरचना भत्काएर पुनः नयाँ बनाउने नाममा कतै देशलाई शून्यमा नै धकेल्ने त हैन भन्ने शंका पैदा हुँदै गएको देखिन्छ। त्यसैले पनि यहाँ विगत पैँतीस वर्षमा हुँदै नभएको भन्ने होइन,केही परिवर्तन भएको छ भन्ने कुरालाई चर्चा गर्न मन लाग्यो।
करिब छत्तीस वर्ष पहिले अर्थात् नेपालमा प्रजातन्त्र पुनर्बहाली हुनुपूर्वको अवस्थामा मेरै जन्मभूमि कस्तो थियो अहिले कति धेरै परिवर्तन भएको देख्दा आश्चर्यमा परेको छु। हुन त कर्णाली र सुदुरपश्चिम वा नेपालका अन्य अति दुर्गममा गाउँ जस्तो मेरो गाउँ होइन। विगत छत्तीस वर्षमा नेपालमा धेरै स्वाभाविक रुपमा हुने परिवर्तन भएकै छन्, त्यसको जस कसैले लिनैपर्दैन। देशमा जुनसुकै सरकार परिवर्तन भए पनि उक्त सरकार अविछिन्न उत्तराधिकारी संस्था हुन्छन् भने कर्मचारी प्रशासन त झन् स्थायी सरकार नै हो।
धेरैजसो पूर्वाधार र विकासका कामहरू स्वचालित नै हुन्छन्। यस्ता स्वचालित रुपमा भएका विकासका कामलाई यो सरकारका पालामा वा त्यो सरकारमा पालामा वा त्यसको योगदान भनेर कसैको प्रशंसा र गुणगान गाउनु बेकार हो। राजनीतिक नेतृत्वले लोकतान्त्रिक मूल्यमान्यता र विधिलाई मानेर इमान्दारीपूर्वक काम गरेको भए आज नेपालको मुहार धेरै फेरिने रहेछ भन्ने कुरा त अहिले भएका विकासलाई आधार मानेर सहजै अनुमान गर्न सकिन्छ। देशमा अर्बौँका भ्रष्टाचारका काण्डहरू नभइदिएको भए ती बजेटले आज कर्णाली र सुदूरपश्चिमका गाउँगाउँमा सडक सञ्जालले छुने रहेछन् भनेर तथ्यका आधारमा विश्लेषण गर्न सकिन्छ।
पैँतीस वर्षमा ठूला आयोजनाका सङ्ख्याभन्दा भ्रष्टाचारका काण्डका सङ्ख्या धेरै भएका छन्। यी भ्रष्टाचारका काण्डहरू नभएका भए आज नेपाल कति राम्रो विकसित र समृद्ध मुलुक हुन्थ्यो होला जस्तो लाग्छ। देशमा यस्तो राजनीतिक अराजकता,द्वन्द्व र भ्रष्टाचारको दलदल हुँदा त तुलनात्मक रूपमा केही दुर्गम मानिने कोशी, गण्डकी, लुम्बिनी प्रदेशका सुदूर गाउँगाउँमा विकासका आधारभूत कुराहरू पुगेका छन् भने अझै राजनीतिक र आर्थिकलगायतका भ्रष्टाचार नभएका भए देश अझै कति धेरै उन्नत र सम्पन्न हुन्थ्यो होला जस्तो लाग्छ। जे होस् विगत पैँतीस वर्षमा नेपाल राजनीतिक अस्थिरता, सशस्त्र युद्ध, संसदीय फोहोरी खेलहरू र भ्रष्टाचारमा नराम्ररी फसेको चाहिँ थियो। यो सरकारले विगतको पाठ सिकेर केवल सकारात्मक काम गरोस् ताकि आउने पाँच वर्षपछि तारिफै तारिफ गर्न पाइयोस्।

यहाँ मैले यही दीपक माध्यमिक विद्यालयको तस्बिर र मेरै जन्मभूमिलाई मनमस्तिष्कमा राख्दै छत्तीस वर्ष पहिले कस्तो थियो र अहिले कति परिवर्तन भएको छ भन्ने कुरालाई थोरै जोड्न चाहन्छु। छत्तीस वर्ष पहिले कक्षा एकदेखि सातसम्म पढाइ हुने उक्त विद्यालय भौतिक अवस्था सामान्य थियो। ढुंगाले छाएको र ढुंगामाटोले गारो लगाएको एल आकारको भवन थियो। कक्षा कोठाहरू त थिए तर सबै कक्षाकोठामा सुविधायुक्त डेस्कबेन्च थिएनन्। कक्षा तीनसम्मका विद्यार्थीले बस्नका लागि घरैबाट चकटी लैजानुपर्थ्यो।
चार कक्षादेखि माथिका लागि ठूलाठूला काठहरू गाडेर डेस्कबेन्च बनाइएका थिए। हरेक कक्षामा करिब तीसपैँतीस विद्यार्थी हुन्थे। हरेक कक्षामा विषयगत शिक्षकहरू थिए। गुणात्मक शिक्षाको दृष्टिकोणले खासै आरोप र दोष लगाउने ठाउँ भने छैन। उक्त विद्यालयबाट राम्रै विद्यार्थी उत्पादन हुन्थे। सात कक्षा उत्तीर्ण गरेपछि माध्यमिक पढ्नका लागि करिब दुई घण्टाको बाटोबाट कि पुर्कोट कि धुर्कोट कि सिमल्टारी नै जानुपर्थ्यो।
छोरी मान्छेहरू त सात कक्षा उत्तीर्ण गरेपछि पढ्न छोड्थे। विद्यालयको वरिपरि बाहेक धुर, बर्दबास, निन्युखर्क, भिरकटेरीसम्मका विद्यार्थी त्यहाँ पढ्न आउँथे। विद्यालयमा चर्पीको त धारणा नै थिएन। छात्र विद्यालयसँगै जोडिएको पौवाको पछाडि र छात्रा विद्यालयको तल बाटामुनि जान्थे। शिक्षकहरू बाँसघारीतिर जानुहुन्थ्यो। दिउँसोको नास्ताको के कुरा गरौँ र प्रशस्त मात्रामा पिउने पानीसम्मको व्यवस्था थिएन। कार्यालय सहयोगीले माटोको घैँटोमा बोकेर ल्याएको पानी खानुपर्थ्यो।
कक्षाकोठा विद्यार्थीले नै आलोपालो गरी बढार्नुपर्थ्यो। रूखका हाँगा र सेउलाले बढार्दा धुलाम्मै भइन्थ्यो। कक्षा चारमा पुगेपछि त बेन्चमा बसेर डेस्कमा झोला राख्दा त ठूलो सफलता हासिल गरेजस्तो लाग्थ्यो। आज सुविधा सम्पन्न विद्यालय भवन, चर्पीको व्यवस्था, कक्षा १२ सम्म पढ्न पाउने सुविधा, शुद्ध पिउने पानीको सुविधा, डिजिटल पढाइ हुने लगायतका धेरै सुविधा उक्त विद्यालयमा रहेका छन्।
प्राथमिक तहसम्मका विद्यार्थीका लागि त विद्यालयबाटै नास्ताको व्यवस्था गरिएको हुन्छ। घरघरमा मोटरबाटो जोडिएका छन्। गाउँमा पनि दैनिकी जीवन र जीवन शैलीमा धेरै गुणात्मक परिवर्तन भएका छन्। विगतको तुलनामा गाउँमा खाने, लगाउने, बोल्ने कुरामा धेरै परिवर्तन भएको छ। विश्वव्यापीकरणको प्रभाव, सूचना र प्रविधि पहुँचले संसारलाई एकीकृत र एउटै गाउँ बनाएको हुनाले मेरो गाउँ पनि त्यसबाट अछुत भएको छैन। आज इन्टरनेटको पहुँचले प्रायः सबै विद्यार्थीलाई सबै किसिमको सामग्री खोज्न सहज भएको छ। यद्यपि यहाँ मैले मेरो जन्मगाउँ र मेरा देशका गाउँ पूर्ण विकसित भएका छन् भन्न खोजेको छैन।
छत्तीस वर्षपहिले गाउँका अधिकांश मानिस कृषिमा निर्भर हुन्थे। प्रायः सबैले गाईबस्तु पाल्ने र खेतीपाती गरेर जीविका चलाउने गर्थे। गाउँमा धेरै निम्नमध्यम वर्गीय किसानकै बसोबास थियो। एकदुई घर मध्यम वर्गका हुन्थे भने केही घर निम्नवर्गीय पनि हुन्थे। गाउँका स्थानीय शिक्षकबाहेक दुईचार जनाले सरकारी जागिर खान्थे।
गाउँभरिमा आठदस मानिस रोजगारीका लागि भारत पनि जान्थे। तिनीहरूलाई लाहुरे भनिन्थ्यो। लाहुरे एकडेढ वर्ष भारत गएर पसिना बेचेर नगद ल्याएर फर्कन्थे। प्रायः घर संयुक्त परिवारकै हुन्थे। एक घरमा कम्तीमा पनि सरदर बाह्रपन्ध्र जनाको परिवार हुन्थ्यो। गाउँमा खानेपानी, सडक, विद्युत् भन्ने पुगेकै थिएनन्। घरदेखि टाढा खोला, कुवा र पँधेराबाट आधाएक घण्टा लगाएर खानेपानी बोकेर ल्याउनुपर्ने अवस्था थियो। उज्यालोका लागि मट्टीतेलमा टुकी र लालटिन बाल्नुपर्थ्यो। खाने नुनका ढिका सदरमुकामदेखि बोकेर लैजानुपर्थ्यो।
जिल्ला सदरमुकाम तम्घासमा सडक पुगेको थियो तर बिजुली पुगेको थिएन। टेलिफोनको कुरा गर्दा त तम्घासमा सरकारी टेलिकमबाहेक केही सरकारी कार्यालयहरूमा ल्यान्डलाइन फोन थिए। हाम्रो गाउँदेखि सदरमुकामसम्म पुग्न कच्ची गोरेटो बाटो थियो। सदरमुकाम तम्घास पुग्न नै एक दिनभरि लाग्थ्यो।
आज छत्तीस वर्षपछि हेर्दा मेरो जन्मगाउँ मात्र होइन, नेपालका धेरै यस्ता गाउँमा सडक, स्वास्थ्यचौकी, विद्यालयभवन, खानेपानी, बिजुली पुगेका छन् तर मुख्य समस्या भनेको घर खाली हुँदै गएका छन्। अधिकांश घरमा वृद्धवृद्धा मात्र छन् भने केही घरमा ताल्चा लगाइएका छन्।गोठमा गाईबस्तु छैनन् भने खेतबारी धेरै बाँझा छन्। गाउँ उत्पादन भएको थोरै खेतीपातीमा पनि बाँदर र बँदेलको भय र आतंक छ।
मेरै जन्मभूमिलाई नै उदाहरण नै मान्दा विगत छत्तीस वर्षमा उक्त गाउँमा विकासै नभएको भन्न सकिन्न। विकास त भयो, त्यो विकास योजनागत, गुणात्मक, दिगो र प्रतिफलयुक्त हुन सकेन। त्यसैले आज विकास गाउँमा पुग्दा गाउँ रित्तिएका हुन्। तत्कालीन नेताले सनक र व्यक्तिगत स्वार्थका आधारमा सरकारी बजेटलाई मनपरी तरिकाले खर्च गर्दा धेरै अनपयुक्त ठाउँमा लगानी हुँदा त्यसको प्रतिफल दिगो हुन सकेन। भिराला अनि पाखा र पखेरामा डक बनाउँदा पहिरोले बस्ती उजाड भएका छन्।
अहिले देशको मुख्य समस्या बेरोजगारी नै छ। गाउँ रित्तिँदै गएका छन् भने सहरले थेग्न नसक्ने भयावहको अवस्था छ। नेपाल सरकारले यी कुरालाई अत्यन्तै प्राथमिकतामा राखेर तत्कालै सम्बोधन गर्नुपर्ने देखिन्छ। देशको मुख्य समस्या रहेका बेरोजगारी र बसाइँसराइलाई न्यून गर्न ऊर्जा, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
विगत छत्तीस वर्षमा नेपालका राजनीतिक र प्रशासनिक नेतृत्वबाट थुप्रै गल्ती, कमजोरी र भ्रष्टाचार भएका छन्। धेरै लामो समयसम्म राजनीतिक अस्थिरता भइरहेको छ। जनताका धेरै अपेक्षा पूरा भएका छैनन्। तर अहिले भएका उपलब्धिलाई शून्य नै घोषणा गरेर केही नै भएको छैन भनेर फेरि थालनीबाट गर्ने भन्ने नाममा देशलाई शून्यतातिर धकेल्न हुँदैन।
बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि लोकतान्त्रिक अधिकारको विस्तार, संविधान निर्माण, सघीय संरचना, समावेशी प्रतिनिधित्व, नागरिक चेतनाको विकास, पूर्वाधारको विस्तार, प्रविधिको पहुँचजस्ता धेरै कुराहरू नेपाली जनताले पाएका छन्। विगत पैँतीस वर्षको इतिहासलाई गाली गरेर पुराना पार्टी भन्नेले देश सकेका थिए, केही गरेनन् भनेर आगामी भविष्य सुन्दर बन्दैन। लोकतान्त्रिक मूल्य मान्यतालाई मुख्य आधार बनाएर विधिको शासनमा नै यो सरकार चल्नुपर्छ। सरकारका मन्त्रीहरूले परिपक्वता र जवाफदेहिता देखाउनुपर्छ। विगतकै प्रतिशोध, स्टन्ट, लोकप्रियताले फेरि पनि दिगो विकास हुन सक्दैन। दिगो विकास कसरी गर्ने भन्ने सवालमा सरकार निकै गम्भीर र संवेदनशील बन्नुपर्छ।
विकासका केही सूचक हेर्दा पैँतीस वर्षको अन्तरालमा देशमा धेरै परिवर्तन भएका छन्। वास्तवमा विगतमा बाँदर पनि लड्ने भीर छिचोल्दै गाउँगाउँमा मोटरबाटो पुगेका छन्। हजारौं किमि सडक कालोपत्रे भएका छन्। आज घरघरमा खानेपानीका धारा छन्। गाउँगाउँमा बिजुली पुगेको छ। हातहातमा इन्टरनेट र मोबाइल छन्। विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार २०४७ सालको जिडिपी तीन खर्ब रुपैयाँको थियोे भने अहिले करिब ६४ खर्बको छ।
२०४७ सालमा गरिबीको रेखामुनिको सङ्ख्या ४९ प्रतिशत थियोे भने अहिले २१ प्रतिशत छ। २०४७ मा ७३३० किमि सडक सञ्जाल थियो भने अहिले करिब १ लाख ८ हजार किमि पुगेको छ। छत्तीस वर्षअघि खानेपानीको पहुँच जम्मा ३५ प्रतिशत नेपालीलाई पुगेको थियो भने अहिले ९६ प्रतिशत पुगेको छ। त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १८५ अमेरिकी डलर थियो भने अहिले करिब १५ सय डलर छ।
२०४७ सालमा सरकारी कार्यालयमा करिब ७६ सेट टेलिफोन लाइन थिए भने अहिले तीन करोड बढी सिम वितरण भएका छन्। २०४७ मा ८.८१ प्रतिशत नेपालीको घरमा विद्युत् पुगेको थियो भने आज करिब ९९ प्रतिशतको घरमा विद्युत पुगेको छ। २०४७ मा देशमा विद्युत् उत्पादन २२७ मेगावाट थियो भने अहिले ३४०० मेगावाट पुगेको छ। नेपालीको औसत आयु नै पनि २०४७ सालमा ५४/५५ वर्ष थियो भने अहिले ७१/७२ वर्ष पुगेको छ।
बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि जे नहुनु पर्ने थिए, ती कुरा पनि भए। राजनीतिक दलका नेतृत्वमा जवाफदेहिता, अनुशासन र इमानदारी भन्ने कुरा पटक्कै देखिएन। राजनीतिलाई सेवा होइन, पेसा बनाए। सत्ताका लागि अनेक विकृत खेलहरू भए। सांसदहरू किनबेच भए। राजनीतिक अस्थिरताको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले दुई पटक सत्ता हत्त्याए र प्रत्यक्ष शासन गरे।
नेकपा माओवादीको २०५२ देखि २०६२ सम्मको सशस्त्र युद्धमा देशले मानवीय, भौतिक र आर्थिक रूपमा ठूलो क्षति भोग्नुपर्यो। माओवादी सशस्त्र युद्धमा करिब १७ हजार सर्वसाधारण नागरिक, सुरक्षाकर्मी र विद्रोहीको ज्यान गयो। करिब २५ सय मानिस बेपत्ता भए। करिब ८ हजार घाइते र अपांग भए। करिब डेढ लाख मानिसहरू आफ्नो घर सम्पत्ति छोडेर विस्थापित हुनुपरेको थियो।
राजनीतिक अस्थिरता, भागबन्डा र सत्ताको चलखेलकै कारणले नै गर्दा पैँतीस वर्षमा आलोपालो गरी तीस जना प्रधानमन्त्री भए। पैँतीस वर्षमा नै अर्बौँ भ्रष्टाचारका ठूल्ठूला काण्डहरू भए। ट्रान्सपरेन्सी इन्टरनेसनलले फेब्रुअरी २०२६ मा सार्वजनिक गरेको २०२५ को भ्रष्टाचार अवधारणा सूचकांकअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकको १०९ औं स्थानमा रहेको छ। महालेखा परीक्षकको कार्यालयले जेठ २०८३ मा राष्ट्रपतिसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनअनुसार कुल फर्छ्यौट हुन बाँकी बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ थियो।
विश्वबैंक र अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०२६ को प्रतिवेदनअनुसार नेपालमा युवा बेरोजगारीको दर २०.५६ प्रतिशत छ। नेपालबाट दैनिक करिब दुई हजार युवा रोजगारीका लागि खाडी मुलुक, मलेसिया र अन्य देश गइरहेका छन्। नेपालको कुल जनसंख्याको करिब एकतिहाई जनसंख्या नै देश बाहिर छन् भनिन्छ।
यसरी २०४७ देखि २०८२ सम्म आउँदा नेपालमा विकासै नभएको भन्न मिल्दैन; जुन गतिमा जति हुनुपर्ने थियो त्यति मात्र नभएको हो। साँच्चै राजनीतिक नेतृत्वले २०४७ सालदेखि इमानदारीपूर्वक काम गरेको भए पैँतीस वर्षपछिको आजको नेपाल विकसित मुलुकको सूचीमा पर्ने रहेछ भनेर सहजै भन्न सकिन्छ। अबको नेतृत्वले अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै दिगो विकासको मूलमन्त्रलाई नै आत्मसात् गर्नुपर्छ। पैँतीस वर्ष होइन, मात्र पाँच वर्षमा कसैले नि कल्पना नगरेको विकास यो सरकारले गर्नुपर्छ र मेरो छोरो र म मात्र नेपाल फर्कने होइन, विभिन्न कारणले बिदेसिएका धेरै नेपाली नेपाल फर्किने वातावरण यो सरकारले बनाओस्।
(भर्जिनिया,अमेरिका)





