बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

हिमाल प्रेस २६ असोज २०८३ १७:५२ | Monday, October 12, 2026
8
SHARES
बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा- उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्। सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्‍याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्।

आइतबार मध्यरातिदेखि आएको बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए।

चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगत्मा विद्युत् अवरुद्ध भएको हो। जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए। ‘बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पुर्‍यायो, पुर्‍यायो। पावर हाउस चाँही सुरक्षित छ’, उनले भने।

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए। विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ। निजी संघसंस्था र स्थानीय नागरिक पनि मर्कामा परेका छन्। हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्थासमेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताइन्।

‘फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने। बाढीले पुल, बाटो सबै बगायो’, उनले भनिन्,‘झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ। धन्न मानवीय क्षति भने भएको छैन।’ उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा विजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ। बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिकावासीलाई झनै मर्का परेको छ।

प्रकाशित: २६ असोज २०८३ १७:५२ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast