तस्बिर : रासस
पोखरा- गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको बाढीले पाँच जना मानिस बेपत्ता भएका छन् भने ठूलो भौतिक क्षति हुन गएको छ।
बाढीका कारण दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका हुन्। ९६ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये ६ विदेशी हुन्।
चुमनुब्री गाउँपालिका ६, चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रान बहान आई स्यारखोला थुनिएर एक्कासि फुट्दा बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान छ।
बाढीका कारण विभिन्न ठाउँमा १० घर बगेका छन्। करिब सय घरमा बाढी पसेको छ। बाढी पसेकामध्ये ४५ घरमा पूर्ण क्षति छ भने २७ घरमा आंशिक क्षति भएको प्रदेश प्रहरी कार्यालय, गण्डकीले जनाएको छ।
बूढीगण्डकी बाढीका कारण ५ पुलमा क्षति भएको छ। पाँचमध्ये पक्की पुल १, झोलुङ्गे पुल २ र बेली ब्रिज १ गरी ५ पुलमा क्षति भएको हो। गोरखा–धादिङ जोड्ने आरूघाटको पुल, मान्बु जोड्ने पक्की पुल, दोभान र सल्लेरीको बेलिब्रिज, केरौंजा जाने झोलुङ्गे पुल बगाएको हो।
यसैगरी, बाढीले चुमनुब्री–३ घट्टखोलास्थित विकास आधारभूत विद्यालयको भवन बगाएको छ। तीन सवारीसाधनमा क्षति भएको छ। निर्माणाधीन तीन हाइड्रोपावरमा पनि क्षति भएको प्रदेश प्रहरी कार्यालय, गण्डकीले जनाएको छ।
चुमनुब्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्यापमा बाढीले बगाएको छ। धार्चे–१ यारु र दोभानमा रहेका दुई हाइड्रोपावर आयोजनामा क्षति पुगेको हो। बाढीले ३४ गोठमा क्षति हुँदा गाई, चौरी, भेडाच्याङ्ग्रा गरी करिब १५० वटा क्षति हुन गएको छ।
बिहान पहिरो झरेको क्षेत्र आसपास भेडीगोठमा बस्दै आएका चुमनुब्री–६, चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी पत्नी ५९ बर्षीया लाक्पा थोर्मा, ६६ बर्षीया सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनायो। उनीहरुको खोजीकार्य जारी छ।
नेपाली सेनाले स्थानीयको सहयोगमा हेली र स्थलमार्गबाट ९६ जनाको उद्धार गरेको हो। जसमा गोरखाको जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट तीन जना, फिलिमबाट दुई जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट तीन जना, देङ्गबाट तीन जना र धौलीबाट ३ जना समेतको उद्धार गरिएको हो।
चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बूढीगण्डकी बाढीले घट्टेखोला, पयू र बगर गाउँका ३५ घर बगाएका बताइन्। दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा पनि क्षति पुगेको छ।
आइतबार बिहान करिब ४ बजे भएको सो घटनामा गाउँपालिका र प्रहरीले तल्लो तटीय क्षेत्रका नागरिकलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान तत्काल सूचित गरेकाले सम्भावित ठूलो क्षति टरेको छ।बाढी आएको खबरपछि मानिसहरु ज्यान जोगाउन डाँडातिर उक्लिएका थिए।
गाउँपालिका अध्यक्ष निमा लामाले सुरुमा भूकम्प गएजस्तो आवाज आएपछि लेदोसहित पहिरो खसेको स्थानीयवासीलाई उद्घृत गर्दै जानकारी दिए।
बाढीग्रस्त क्षेत्रमा नेपाली सेनाबाट ३ वटा स्पेसल फोर्ससहित १ सय ७१ जना, नेपाल प्रहरी बाट १ सय ४३ जना र सशस्त्र प्रहरी बल नेपालबाट ३ सय ८९ गरी ७ सय ३ जना सुरक्षाकर्मी परिचालित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।




