काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी इमानदारी, निष्ठा र व्यावसायिक अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिम (१-१८४औँ समूह) को दीक्षान्त समारोहलाई साेमबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन र संगठनको प्रोटोकलविपरीतका काम नगर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन्।
उनले प्रहरी सेवामा व्यावसायिक सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी पहिलो आधार भएको बताए। संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा उनले जोड दिए।
देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी र भेदभाव नगरी कर्तव्य निर्वाह गर्नुपर्ने बताए।
‘आम नागरिकले अनुभूत गर्ने गरी काम गर्न’ प्रहरी अधिकृतहरूलाई आग्रह गर्दै उनले नागरिकको विश्वास जित्ने गरी आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखे।
सूचना प्रविधिको सही प्रयोगले प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने प्रधानमन्त्री शाहको भनाइ थियो। समयसँगै अपराधका स्वरूप र प्रवृत्ति पनि परिवर्तन भइरहेकाले निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानमा सूचना प्रविधिको सदुपयोग गर्नुपर्ने उनले बताए।
प्रधानमन्त्री शाहले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफलताको शुभकामना दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।
आफ्ना छोराछोरीलाई चुनौतीपूर्ण प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले दीक्षान्त समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिए।




