कांग्रेस महाधिवेशन : बिहान ७ बजेदेखि मतदान, ७ हजार बढी प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

हिमाल प्रेस २३ असोज २०८३ ६:०५ | Friday, October 9, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : बिहान ७ बजेदेखि मतदान, ७ हजार बढी प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ। मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदानका लागि निर्वाचन समितिले आवश्यक तयारी पूरा भएको जनाएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।

मतदानका लागि राष्ट्रियसभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ। प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थागत आबद्धताका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रियसभा गृह र खुलामञ्च परिसरका विभिन्न हलमा मतदानको व्यवस्था गरिएको छ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन हुनेछन्। निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ।

यसअघि असोज २२ गतेभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो।

रातिको समयमा मतदान गराउनुभन्दा बिहानबाट प्रक्रिया सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित निर्वाचन समितिले नयाँ समयतालिका सार्वजनिक गरेको थियो।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ। सबै पदको मतगणना सकिएपछि अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

प्रकाशित: २३ असोज २०८३ ६:०५ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast