काठमाडौँ- नुवाकोटको विदुर नगरपालिकाका बालविकास शिक्षकले खाइपाइ आएको तलब कटौती भएपछि आफूहरू अन्यायमा परेको गुनासो गरेका छन्। दसैँको मुखमा तलब कटौती हुँदा दैनिक गुजारा चलाउनसमेत समस्या भएको भन्दै उनीहरूले सम्बन्धित निकायसँग सहयोग र न्यायको माग गरेका छन्।
बालविकास शिक्षक सोनिया बीसीका अनुसार संघीय सरकारले उपलब्ध गराउँदै आएको अनुदानमा नगरपालिकाले थप रकम उपलब्ध गराउँदै आएको थियो।
सुरुमा संघीय सरकारले १० हजार रुपैयाँ उपलब्ध गराउँदा नगरपालिकाले तीन हजार थप गरी मासिक तलब १३ हजार रुपैयाँ पुर्याएको थियो। त्यसपछि शिक्षकहरूले सरकारले तोकेबमोजिमको पारिश्रमिक पाउनुपर्ने माग गर्दै पटकपटक नगरपालिका धाएका थिए।
ध्यानाकर्षण पत्रसमेत बुझाएपछि नगरपालिकाले थप दुई हजार रुपैयाँ बढाएर तलब १५ हजार रुपैयाँ पुर्याएको थियो। बीसीका अनुसार पछि नगरपालिकाले थप पाँच हजार रुपैयाँ उपलब्ध गराएपछि उनीहरूले मासिक १७ हजार रुपैयाँ तलब बुझ्दै आएका थिए।
गत वर्ष साउनपछि संघीय सरकारले उपलब्ध गराउने रकममा वृद्धि गरेसँगै तलबको व्यवस्थापन गरिएको थियो। तर, पछिल्लो समय संघीय सरकारले तलब बढाएर १० हजार रुपैयाँ पुर्याएपछि नगरपालिकाले यसअघि उपलब्ध गराउँदै आएको पाँच हजार रुपैयाँ कटौती गरेको उनीहरूको गुनासो छ।
नगरपालिकाले साउनदेखि लागू हुने गरी थप रकम उपलब्ध गराउने निर्णय भएको जानकारी आफूहरूलाई दिएको बीसीले बताइन्। नगरभरिका बालविकास शिक्षक व्यवस्थापन समितिका अध्यक्ष र सचिवसहितको टोलीले सरकारले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका बेला उपप्रमुख प्रभा बोगटीले साउनदेखि लागू हुने गरी रकम थप गर्ने निर्णय भइसकेको भन्दै आश्वस्त पारेको उनको भनाइ छ।
‘हामीले त्यस दिन पनि ध्यानाकर्षण पत्र बुझाएर फर्किएका थियौँ। तर, दसैँको मुखमा तलब निकासा गर्ने बेला भएपछि थप रकम दिने निर्णय भएको रहेनछ भन्ने थाहा भयो,’ बीसीले भनिन्।
उनका अनुसार नगरपालिकाले यसअघि उपलब्ध गराउँदै आएको पाँच हजार रुपैयाँसमेत कटौती गरी संघीय सरकारले उपलब्ध गराएको रकम मात्रै निकासा गर्न लेखा शाखा र शिक्षा शाखालाई निर्देशन दिएको शिक्षकहरूले जानकारी पाएका छन्। त्यसपछि शिक्षकहरू नगरप्रमुखलाई भेटेर समस्या राख्न पुगे पनि आफूहरूले सहयोग पाउन नसकेको बीसीले बताइन्।
‘हामीले यस्तो विपत्ति आइपरेको बेला पनि सहयोग गर्न सक्दैनौँ, तपाईंहरू जानुस् भन्ने जवाफ पायौँ,’ उनले भनिन्।
बीसीले बालविकास शिक्षकहरूलाई लामो समयदेखि श्रमशोषण हुँदै आएको गुनासोसमेत गरिन्। अन्य क्षेत्रका नागरिकलाई विपत्ति पर्दा सहयोगका कार्यक्रम अघि बढाइए पनि बालविकास शिक्षकहरूलाई भने राहतको सट्टा खाइपाइ आएको तलबसमेत कटौती गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।
शिक्षकहरूले नगरपालिकासँग बजेट अभावकै कारण विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न समस्या भएको हो भने आफूहरू आफ्नो एक महिनाको तलबसमेत सहयोग गर्न तयार रहेको बताएका छन्। पुल, बाटो र घर निर्माणलगायतका काममा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको जानकारी नगरपालिकालाई गराएको बीसीले बताइन्।
‘नगरपालिकासँग बजेट छैन भने विपत्तिमा परेकाहरूलाई सहयोग गर्न हामी सबै बालविकास शिक्षक एक महिनाको तलब दिनसमेत तयार छौँ। तर, हामीले खाइपाइ आएको तलब नै कटौती गर्नु कति न्यायोचित हो?’ उनले प्रश्न गरिन्।
नगरप्रमुखले सहयोग गर्न नसक्ने बताउने र उपप्रमुखले आफूलाई यस विषयमा जानकारी नभएको जवाफ दिने गरेको भन्दै शिक्षकहरूले समस्या समाधानका लागि अब कहाँ जाने भन्ने अन्योलमा परेको गुनासो गरेका छन्।
शिक्षामन्त्री सस्मित पाेखरेलले स्थानीय तहले बालविकास शिक्षकलाई थप रकम उपलब्ध गराउनुपर्ने धारणा राखेको भिडियो देखेपछि आफूहरूलाई न्याय दिलाउन सहयोग पुग्ने अपेक्षासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बीसीले बताइन्।
दसैँको समयमा तलब कटौती हुँदा आफूहरू गम्भीर आर्थिक समस्यामा परेको भन्दै बालविकास शिक्षकहरूले नगरपालिकाले यसअघि उपलब्ध गराउँदै आएको रकम कटौती गर्ने निर्णय पुनर्विचार गरी सरकारले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्।



