विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा श्रीलंकाका धम्मिका प्रसाद

हिमाल प्रेस २२ असोज २०८३ १७:३८ | Thursday, October 8, 2026
10
SHARES
विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा श्रीलंकाका धम्मिका प्रसाद

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।

अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका प्रसादलाई बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा उनको अनुभवलाई मध्यनजर गर्दै निरन्तरता दिइएको टोलीले जनाएको छ।

दायाँहाते फास्ट बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय र १४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा उनले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। उनले नेपाल र ओमान राष्ट्रिय टोलीको बलिङ प्रशिक्षकका रूपमा पनि काम गरेका छन्।

फ्रेन्चाइज क्रिकेटमा प्रसादले लंका प्रिमियर लिगमा कोलम्बो किङ्सका बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक तथा क्यान्डी रोयल्सका सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए। उनले केम्यान आइल्यान्ड म्याच ६० मा फ्लोरिडा लायन्स तथा बिग क्रिकेट लिगमा गुजरात डायमण्ड्सको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका छन्।

एनपीएलको तेस्रो संस्करणको तयारीका लागि विराटनगर किङ्स हाल भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ।

टोलीले त्यहाँ रणजी ट्रफी खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ। प्रसादको नेतृत्वमा विराटनगर किङ्सले एनपीएलको तेस्रो संस्करणमा गत सिजनको प्रदर्शन सुधार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २२ असोज २०८३ १७:३८ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast