काठमाडौँ- पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेकी छन्। पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेकाे स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि भण्डारीले पदभार ग्रहण गरेकी हुन्।
शपथग्रहण गरेसँग पूर्वउपराष्ट्रपति भण्डारीको ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा औपचारिक रूपमा पुनरागमन भएको छ। एमालेको उपाध्यक्ष छँदा उनी राष्ट्रपति भएकी थिइन्। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारीमा रहँदा भण्डारी सक्रिय राजनीतिबाट अलग भएकी थिइन्।
२०८३ असोज ८ गत बसेको एमाले एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष मनोनीत गर्ने निर्णय गरेको थियो। सचिवालय बैठकको यो निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।
भण्डारीलाई पार्टीमा दोस्रो वरियता राखिएको छ। वरिष्ठ उपाध्यक्षको शपथ लिएसँगै बिहीबार उनी पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएकी छन्।
असोज ५ देखि ८ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। स्थायी कमिटीमा सदस्यहरू थपिएपछि बिहीबार पहिलोपटक बैठक बसेको हो।



