आन्दोलनको तयारीमा जुट्न ओलीको निर्देशन

हिमाल प्रेस १८ असोज २०८३ १९:२० | Sunday, October 4, 2026
आन्दोलनको तयारीमा जुट्न ओलीको निर्देशन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन्।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा–‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिएका हुन्।

संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको उनले बताए।

साथै आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन तयारी, विज्ञहरूसँग छलफल र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक र प्रभावकारी उपस्थिति जनाउन समेत निर्देशन दिएको एमाले प्रमुख सचेतक ऐन महरले बताए।

बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालहरूलाई सुदृढ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर फासीवादी, स्वेच्छाचारी एवं तानाशाही बाटोमा उद्धत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरले बताए।

उनले सरकारले संसदलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायाँमा संसदलाई पारेको र जनमतको उपेक्षा गर्दै संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको समेत आरोप लगाए।

प्रकाशित: १८ असोज २०८३ १९:२० | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast