काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौँको खुल्लामञ्चमा कांग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै अध्यक्ष लिङ्देनले विगत ६ महिनाको घटनाक्रमले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने देखिएको भन्दै वर्तमान व्यवस्था र संविधानमा समेत त्रुटिहरू रहेकाले ती कमजोरीहरूलाई सुधारेर अगाडि बढ्नुपर्ने बताए।
उनले संविधान गीता, बाइबल वा कुरान जस्तो चलाउनै नहुने अपरिवर्तनीय दस्तावेज नभएकाले यसमा देखिएका त्रुटिहरू सच्याउनुपर्ने धारणा राखे। अध्यक्ष लिङ्देनले देश बिग्रँदा कुनै एउटा दल वा सत्तामा बस्नेहरूको मात्र नभई सिङ्गो देश र सबै नागरिकको क्षति हुने चेतावनी दिए।
राजाले राजनीतिक दलहरूलाई, दलहरूले राजालाई, र दलहरूले एक–अर्का वा दलभित्रका अन्य गुटहरूलाई गर्ने निषेधको राजनीतिले देशलाई संकटको मुखमा पु¥याएको भन्दै उनले अब निषेधको राजनीति छाडेर नयाँ समझदारी र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिए।
उनले देशलाई निकास दिनका लागि राजा, राजनीतिक दलहरू तथा नवयुवा पुस्ता सबैलाई एकै ठाउँमा राखेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने जिकिर गरे। यस्तो सहमतिले कसैलाई नहराउने र सिङ्गो देशले जित्ने वातावरण बन्ने उनको भनाइ छ।



