नेकपा र एमालेका असन्तुष्ट नेताहरू गोप्यरूपमा ‘समाजवादी जागरण अभियान’मा, के दुई पार्टी फुट्दैछन्?

हिमाल प्रेस १८ असोज २०८३ ८:५० | Sunday, October 4, 2026
नेकपा र एमालेका असन्तुष्ट नेताहरू गोप्यरूपमा ‘समाजवादी जागरण अभियान’मा, के दुई पार्टी फुट्दैछन्?

काठमाडौँ-  नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका दोस्रो दर्जाका नेताहरूले नयाँ किसिमको मोर्चाबन्दी थालेका थालेका छन्। शनिबार काठमाडौँको पार्टी प्यालेसमा भेला गर्दै  समाजवादी जागरण अभियानको विशेष वैचारिक भेलामार्फत नयाँ ध्रुवीकरणको थालनी भएको हो।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा आयोजित भेलामा नेपाली कम्युनिस्ट पार्टी तथा विभिन्न वामपन्थी पार्टीका केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा नेतासहित करिब ७० जनाको सहभागिता रहेको आयोजक पक्षका सहभागीले बताएका छन्।

भेलामा देशभरबाट आएका विभिन्न वामपन्थी दलका नेता तथा कार्यकर्ताहरू सहभागी भएको बताइएको छ। पार्टीभित्र वैचारिक बहस र छलफल कमजोर हुँदै गएको विषयमा गम्भीर समीक्षा गर्दै वैज्ञानिक समाजवादको पक्षमा व्यापक जनअभियान सञ्चालन गर्नुपर्ने विषयमा छलफल भएको स्रोतको दाबी छ। कार्यक्रमको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता कमरेड झलनाथ खनालले गरेका थिए। विभिन्न वामपन्थी समूह तथा पार्टीबाट सहभागी नेताहरूले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालनमा भूमिका निर्वाह गरेका थिए।

बिहान ८ बजेदेखि सुरु भएको भेला बेलुका ६ बजेसम्म चलेको थियो। भेलाले समसामयिक राजनीतिक तथा वैचारिक विषयसँग सम्बन्धित विभिन्न प्रस्तावहरू पारित गर्दै कार्यक्रम सम्पन्न गरेको एक सहभागीले जानकारी दिए। भेलामा सञ्चारकर्मी तथा पत्रकारहरूलाई औपचारिक रूपमा आमन्त्रण गरिएको थिएन। कार्यक्रमलाई गोप्य रूपमा आयोजना गरिएको भए पनि भेलामा भएका छलफल, निर्णय तथा आगामी कार्यक्रमबारे आयोजक पक्षले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी गरेको सहभागीले बताए।

सहभागीहरूका अनुसार पछिल्लो समय ठूला वामपन्थी पार्टीहरूभित्र वैचारिक बहस तथा राजनीतिक प्रशिक्षण कमजोर हुँदै गएको भन्दै कार्यकर्तामा नेतृत्वप्रति असन्तुष्टि बढिरहेको अवस्थामा समाजवादी जागरण अभियान सुरु भएको छ।  यस भेलालाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका लागि समेत ठूलो राजनीतिक तथा वैचारिक धक्काका रूपमा लिइएको सहभागीहरूले बताएका छन्। उनीहरूका अनुसार भेलाबाट गठन भएको भनिएको नयाँ कमिटी र आगामी कार्यक्रमले ठूला वामपन्थी शक्तिभित्र नयाँ बहस सिर्जना गर्नेछ।

यद्यपि, भेलाबाट पारित प्रस्ताव, गठित कमिटी तथा आगामी कार्यक्रमको आधिकारिक विवरण भने सोमबार हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ।आइतबार सहभागी सबै नेकपा एमालेका केन्द्रीय सदस्य र नेपाली कम्युनिष्ट पार्टीका सदस्य र पोलिट ब्युरो भएकाले गोप्य रुपमा गरिएको कार्यक्रम हो। कार्यक्रममा सहभागी एक नेताका अनुसार  प्रचण्ड र माधव नेपालले ठूलो शक्ति लाएर कार्यक्रम रोक्न खोजे पनि कार्यक्रम भएको थियो।  त्यही कारण सहभागीको नाम र तस्बिर गोप्य राखिएको छ। फोटो खिच्ने कसैलाई अनुमति दिएको थिएन।

प्रकाशित: १८ असोज २०८३ ८:५० | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast