‘अधिकार रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता हुनुपर्छ’

हिमाल प्रेस १७ असोज २०८३ २०:५२ | Saturday, October 3, 2026
‘अधिकार रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता हुनुपर्छ’

काठमाडौँ- मधेश केन्द्रित दलका नेताहरूले लामो संघर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकार रक्षाको निम्ति मधेश केन्द्रित दलबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै नेताहरूले महिला, मधेशी, दलित तथा उत्पीडित समुदायको संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको उल्लेख गर्दै त्यसको रक्षा गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको छ, अधिकार, पहिचान र प्राप्त उपलब्धिको रक्षाका लागि पुनःसंघर्ष गर्नुपर्ने समय आएको छ, नेपालमा अझै पनि मधेसी समुदाय विभेद र उत्पीडनमा रहेको छ।’

मधेस केन्द्रित दलका धेरै राजनीतिक मुद्दा समान रहेको उल्लेख गर्दै उनले फरक–फरक रूपमा अघि बढ्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। अध्यक्ष यादवले राज्यका निकायमा मधेशी समुदायको जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमासमेत जोड दिए।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेश केन्द्रित दल सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति र परिणाममुखी राजनीतिक संस्कार हुनुपर्नेमा जोड दिए।

मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, महिला तथा सबै उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समतामूलक नेपाल निर्माण गर्न नसकिने उनको भनाइ छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा मधेश प्रदेश अध्यक्ष अमिताभ बच्चन दासले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धि र अधिकारको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि वीरगञ्जमा सुरु भएको छ। महाधिवेशनले नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष सीके राउतको मात्रै उम्मेदवारी परेको छ। तर, अन्य पदमा भने प्रतिस्पर्धा हुनेछ।

विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन्। सात उपाध्यक्षका लागि १४ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि ७३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १७ असोज २०८३ २०:५२ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast