काठमाडौँ- बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको राहतका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ।
समितिका उपाध्यक्ष तारा भट्टराईको नेतृत्वमा संकलित उक्त रकम बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरिएको हो।
संकलित रकम राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिए।
कार्यवाहक राजदूत दुवाडीले विपद्का बेला प्रवासमा रहेका नेपाली समुदायले मातृभूमिप्रति देखाएको सहयोग र सद्भाव महत्त्वपूर्ण रहेको बताए। उनले बाढीपहिरोजस्ता विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्राप्त सहयोगले ठूलो अर्थ राख्ने उल्लेख गरे।
मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तारा भट्टराईले नेपालमा विपद्का कारण नागरिक समस्यामा परेकाबेला मन्दिरकोतर्पmबाट थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त रकम संकलन गरिएको बताए।
रकम जनैपूर्णिमा, कृष्णजन्माष्टमी र हरितालिका पर्व (तीज) का अवसरमा मन्दिरमा आएका नेपाली तथा विदेशी भक्तजनबाट प्राप्त दानबाट संकलन गरिएको उपाध्यक्ष भट्टराइले जानकारी दिए।
२३ वर्षअघि स्थापना गरिएको लन्डनस्थित पशुपतिनाथ मन्दिरले नेपालमा बाढीपीडितका लागि पहिलोपटक आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मन्दिर व्यवस्थापन समितिले बेलायतमा रहेका नेपाली समुदाय र भक्तजनको सहयोगमा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।



