काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले तान्जेनियामा हुने अन्तर-संसदीय संघ (आईपीयु) को बैठकमार्फत जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा पत्रकारहरुसंगको छलफलमा तान्जानियामा हुने आईपीयुको बैठकमा सहभागी हुन आफू आइतबार त्यसतर्फ जान लागेको जानकारी दिँदै सभामुख अर्यालले हालै नेपालमा भएको बाढीपहिरो र जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा संसारलाई सुनाउने महत्वपूर्ण मौका हुने बताए।
कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका भए पनि व्यहोर्नुपरेको क्षतिबारे विश्वका सभामुख तथा सांसदहरूसामु यो बहस उठाउने अवसर प्राप्त भएको उनले बताए।
उनले आईपीयुको बैठकमा नेपालको तर्फबाट ‘इमेरजेन्सी एजेन्डा’ प्रस्तुत गर्ने नयाँ अभ्यास र तयारी भइरहेको भन्दै उक्त एजेन्डा पास गराएर बहसमा ल्याउन परराष्ट्र मन्त्रालय र प्रतिनिधिमण्डल प्रयासरत रहेको धारणा राखे।
त्यस्तै उनले संसद् कमजोर नभएको र यसको आफ्नै मर्यादा तथा गति रहेको उल्लेख गरे। देशका करिब ३ करोड नेपालीका लागि काम गर्न खटिएकाले व्यक्तिगत थकानको कुनै अर्थ नरहने र आफ्नो कर्तव्य निरन्तर पूरा गर्ने उनले बताए।



