विराटनगर- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं. ६ को अधिवेशनका क्रममा भएको झडपप्रति गम्भीर आपत्ति जनाएकी छन्।
संग्रौलाले बुधबार जारी गरेको विज्ञप्तिमा सुन्दरहरैँचा नगरपालिका-४ स्थित सिरुडेल बन्धु सामुदायिक भवन, बाँसबारीमा क्षेत्रीय सभापति देवराज तामाङले निर्वाचन प्रक्रियाका लागि स्थान निर्धारण गरेको उल्लेख गरेकी छन्।
विज्ञप्तिअनुसार निर्वाचन कार्यक्रम प्रारम्भ हुनुअघि नै पूर्वनिर्धारित रूपमा मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही उच्छृंखल व्यक्तिले उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिहरूमाथि सांघातिक आक्रमण गरेका थिए।
आक्रमणमा मोरङ क्षेत्रीय सभापतिका उम्मेदवार चुमानारायण तवदार, चेतराज रेग्मी तथा जेन्जी युवा समुन्द्र पोखरेललगायत घाइते भएको उल्लेख छ।
संग्रौलाले घटनामा घाइते भएका क्षेत्रीय सभापति देवराज तामाङ र उनीद्वारा परिचालित समूहका नेपाली कांग्रेसका जुझारु कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता तथा हिंसाका लागि कुनै स्थान नहुने बताउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन तथा पार्टीको विधानबमोजिम कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरेकी छन्।
स्थगित निर्वाचन प्रक्रियालाई यथाशीघ्र सुचारु गर्न कांग्रेसका पार्टी सभापति तथा केन्द्रीय निर्वाचन समितिसमक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख छ।




