काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरू बढ्न थालेका छन्। भूगोलबाट महाधिवेशन प्रतिनिधि चुनिएका नेताहरूले अब केन्द्रीय पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका हुन्। कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते उद्घाटन हुँदै छ।
यसअघिका महाधिवेशनमा सभापतिसहित अधिकांश पदमा गुटगत प्रतिस्पर्धा हुने गरेको थियो। १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाले सबै पदमा उम्मेदवार उठाएर प्यानलै प्रतिस्पर्धा गरेका थिए। प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि आफू निकट नेताहरूलाई केही पदाधिकारीमा उम्मेदवार बनाएका थिए।
१५ औँ महाधिवेशनमा त्यस्तो गुटगत भिडन्तको सम्भावना कम रहेको कांग्रेस नेताहरू बताउँछन्। लामो समयदेखि सभापतिको तयारी गर्दै आएका कतिपय नेता यसपटक नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर छन्। गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व लिएपछि उनकै नेतृत्वमा हुन लागेको महाधिवेशनमा पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिको प्रतिस्पर्धामा छैनन्। उनीहरूमध्ये अधिकांश नेता शशांक कोइरालाको नेतृत्वमा रहेको इतर पक्षमा छन्।
१५ औँ महाधिवेशनमा सभापतिका प्रमुख दाबेदार थापा देखिएका छन्। कांग्रेसका कतिपय नेताले उनलाई सभापतिमा ‘निर्विकल्प’ उम्मेदवारका रूपमा चित्रित गर्न थालेका छन्। यद्यपि पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पनि सभापतिमा प्रतिस्पर्धाको तयारी गरिरहेको उनी निकट नेताहरू बताउँछन्।
यसपटक सबै पदमा प्रतिस्पर्धा हुने भए पनि विगतमा जस्तो गुटगत भिडन्तको सम्भावना कम रहेको कांग्रेस नेता रामहरि खतिवडा बताउँछन्। ‘यसपटक गुटगत प्रतिस्पर्धा हुने सम्भावना कम हुन्छ। गगनजी नै निर्विकल्प हो जस्तो लाग्छ,’ खतिवडा भन्छन्।
राठोरको सभापतिमा बलियो दाबेदारी नरहेको कतिपय कांग्रेस नेताको बुझाइ छ। ‘उहाँ (राठोर) बलियो गरी लाग्नुहुन्छ भन्ने लाग्दैन। उहाँले कुनै पदमा बार्गेनिङ गरेको हुन सक्छ,’ कांग्रेसका एक नेताले भने।
कांग्रेस नेत्री प्रतिमा गौतम पनि सभापति पदमा अहिलेसम्म गुटगत प्रतिस्पर्धाको सम्भावना कम रहेको बताउँछिन्। ‘म पनि सहमहामन्त्रीको दाबेदार हुँ। तर गुट नै बन्छ भन्ने लाग्दैन,’ उनी भन्छिन्, ‘अब हेरौँ, चुनावका दिनसम्म कस्तो वातावरण बन्छ।’
विगतका महाधिवेशनमा सभापतिका उम्मेदवारको चर्चा लामो समय चल्ने र त्यसैअनुसार गुट निर्माण हुने गरेको थियो। अन्तिम समयसम्म गुट परिवर्तन गर्ने र समीकरण फेरबदल गर्ने अभ्याससमेत कांग्रेसमा देखिन्थ्यो। सभापति निर्वाचित हुन कुल सदर मतको ५० दशमलव ५ प्रतिशत मत आवश्यक पर्ने वैधानिक व्यवस्था भएकाले पहिलो चरणमै परिणाम नआए दोस्रो चरणसम्म निर्वाचन जाने अवस्था रहन्थ्यो। यसपटक सभापतिमा प्रतिस्पर्धा सीमित भए पहिलो चरणमै नेतृत्व चयन हुने सम्भावना छ।
सभापतिमा विगतजस्तो तीव्र प्रतिस्पर्धाको सम्भावना कमजोर देखिए पनि अन्य पदाधिकारीमा भने आकांक्षीको संख्या बढ्दो छ। महामन्त्री र सहमहामन्त्रीमा प्रतिस्पर्धा पेचिलो हुने देखिएको छ।
कांग्रेसमा दुई उपसभापति रहने व्यवस्था छ। अहिले पुष्पा भुसाल र विश्वप्रकाश शर्मा उपसभापति छन्। उनीहरू दुवै दोहोरिएर प्रतिस्पर्धा गर्ने चर्चा छ। भुसालले पुनः उम्मेदवारी दिने बताइसकेकी छन् भने शर्मा भने अहिलेसम्म मौन छन्। कांग्रेसको विधानअनुसार एक उपसभापति महिला र अर्को खुला प्रतिस्पर्धाबाट निर्वाचित हुन्छन्।
कार्यकारी भूमिका रहने महामन्त्रीमा यसपटक प्रतिस्पर्धा अझ पेचिलो हुने देखिएको छ। दुई महामन्त्री पदका लागि अहिलेसम्म आधा दर्जनभन्दा बढी नेताको नाम चर्चामा छ। विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरु घिमिरे पनि पुनः महामन्त्रीमै दोहोरिने मनसायमा रहेको कांग्रेस नेताहरू बताउँछन्।
महामन्त्रीका लागि प्रवक्ता देवराज चालिसे, उदयशमशेर जबरा, रामहरि खतिवडा, डा. सुनिल शर्मा, नैनसिंह महर, अमरसिंह पुन र मधु आचार्यको नाम चर्चामा छ। जबरा, शर्मा, महर र पुनले सार्वजनिक रूपमै महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन्। महरले त महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर देशव्यापी दौडसमेत सुरु गरिसकेका छन्।
सहमहामन्त्रीमा पनि आकांक्षीको संख्या बढ्दो छ। कांग्रेसमा ११ सहमहामन्त्री रहने व्यवस्था छ। त्यसमध्ये आठ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने एक महिलासहित तीन जना मनोनीत हुने व्यवस्था छ। महिला, आदिवासी जनजाति, मधेशी, खसआर्य, मुस्लिम, पिछडिएको क्षेत्र, थारू र दलित क्लस्टरबाट सहमहामन्त्री निर्वाचित हुनेछन्।
अहिले प्रतिमा गौतम, मनोजमणि आचार्यलगायतका नेताले सहमहामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन्। आकांक्षीको संख्या बढ्दै गएपछि पदाधिकारीका केही पद थपिने सम्भावनासमेत कांग्रेसभित्र चर्चा हुन थालेको छ।
कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला बन्दसत्रमा पदाधिकारीको संख्या पुनरवलोकनको विषय उठ्न सक्ने बताउँछिन्। ‘आकांक्षी धेरै भइयो भने केही पद थप्न पनि सकिन्छ,’ उनी भन्छिन्।
यसरी सभापतिमा नेतृत्वको प्रतिस्पर्धा तुलनात्मक रूपमा सीमित देखिए पनि दोस्रो तहका पदाधिकारीमा भने आकांक्षीको संख्या बढिरहेको छ। त्यसैले १५ औँ महाधिवेशनको मुख्य प्रतिस्पर्धा सभापतिको भन्दा महामन्त्री, उपसभापति र सहमहामन्त्री पदमा केन्द्रित हुने संकेत देखिएको छ।




