चोलेन्द्रलाई नियन्त्रणमा लिएका एसएसपी खड्कालाई मानवअधिकार आयोगले बोलायो

हिमाल प्रेस १२ असोज २०८३ १६:३८ | Monday, September 28, 2026
10
SHARES
चोलेन्द्रलाई नियन्त्रणमा लिएका एसएसपी खड्कालाई मानवअधिकार आयोगले बोलायो

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई आयोगले सोधपुछका लागि बोलाएको हो।

मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एसएसपी खड्कालाई मंगलबार साढे ११ बजे सोधपुछका लागि बोलाइएको जानकारी दिए।

‘हिजोको घटनाका सन्दर्भमा सोधपुछ गर्न उहाँ (सन्तोष खड्का) लाई बोलाइएको छ,’ पोखरेलले हिमालप्रेससँग भने।

सुरक्षा खतरा रहेको भन्दै प्रहरीले पूर्वप्रधानन्याायधीश जबरालाई आइतबार बिहान करिब ३ बजेतर्फ नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय ल्याएको थियो। झन्डै १२ घण्टा कार्यालयमा राखेर घरमै सुरक्षा दिने भन्दै प्रहरीले जबरालाई परिवारको जिम्मा लगाएको थियो।

सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा जबराको ज्यानलिनेसम्मको चर्चा चलेको भन्दै उनलाई सुरक्षा दिन नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो।

यो विषयमा मानवअधिकार आयोगले समेत अनुमगन गर्न खोजेको थियो। आयोगको टोली आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले जबरासँग भेट गर्न दिएको थिएन।

पूर्वप्रधानन्यायाधीश जबरासँग भेट गर्न नदिएकोमा आयोगले आइतबार नै विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो। जबरालाई भेट्न नदिएको विषयमा पनि आयोगले एसएसपी खड्कासँग सोधपुछ गर्ने भएकोछ।

‘पूर्वप्रधानन्यायाधीश पक्राउ सम्बन्धमा आयोगको टोली अनुगमनका लागि पुगेको थियो। तर, अनुगमन गर्न पाएन। यो विषयमा छलफलका लागि उहाँलाई डाकिएको हो,’ आयोगका प्रवक्ता पोखरेलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast