काठमाडौँ- नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति ट्रफी-२०८३’ खेलकुद प्रतियोगिता साेमबारदेखि लगनखेलस्थित खेल मैदानमा सुरु भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले एक समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरे।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार पार्ने उद्देश्यले २०६५ सालदेखि प्रधानसेनापति ट्रफी सुरु गरिएको हो।
यस वर्षको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी कुल ८ वटा खेल विधाहरू समावेश गरिएका छन्।
प्रतियोगितामा पृतना तथा वाहिनीका गरी १४ वटा टोलीहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन आयोजित ५ किलोमिटर दौडतर्फ महिला विधामा मध्य पूर्वी पृतनाकी प्युठ निर्मला के.सी. र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भए।
विजेता खेलाडीहरूलाई प्रधानसेनापति सिग्देलले पुरस्कार वितरण गरेका थिए।
उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।







