सुधनले नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग मुठभेठ भयो : मानवअधिकार आयोग

हिमाल प्रेस १३ जेठ २०८३ १९:२५ | Wednesday, May 27, 2026
28
SHARES
सुधनले नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग मुठभेठ भयो : मानवअधिकार आयोग

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व लिएपश्चात झडपको स्थिति सिर्जना भएको जनाएको छ।

भदौ २३ र २४ गतेको घटना छानबिन गरेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गुरुङले भिडको नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप र हुलदङ्गामा परिणत भएको उल्लेख छ।

‘अन्दाजी ३०००÷३२०० जनाको संख्यामा प्रमुख जिल्ला अधिकारीले प्रदान गरेको अनुमतिको परिधिभित्र सुरू गरिएको ¥याली केही समयभित्रै नै सो परिधि र क्षेत्र नाघी बबरमहल, बिजुली बजार पुल हुँदै नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि आइपुगेको,’ प्रतिवेदनमा भनिएको छ,‘तत्पश्चात प्रदर्शनकारीहरुको संख्या बढेर २०÷२५ हजार जना भएको, सोही समयमा टीओबी लेखिका कालो टीसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपहरू आएर भीडलाई उत्तेजक बनाएको देखिन्छ। एभरेष्ट होटलअगाडि अन्दाजी २०/२५ हजार भीड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाली संस्थाका सुदन गुरुङले भीडको नेतृत्व गरेको पाइन्छ। यसरी निज गुरुङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भई हुलदङ्गामा परिणत भएको देखिन्छ।’

मुठभेड र झडपको अवस्था आइसकेपछि मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्यास र पानीको फोहोरा प्रयोग भएको पाइएको प्रतिवेदनमा भनिएको छ।

टीओबी लेखिएका कालो टीसर्ट र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर समूहले जेनजीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी जेनजी विद्यार्थीलाई ढाल बनाइ सुरक्षाकर्मीमाथि ढुंगामुढा गदै संसद भवनमा आक्रमण र आगजनी गरेको प्रतिवेदनमा उल्लेख छ।

टीओबी समूह प्रदर्शनकारीलाई उक्साउने कार्यमा स्पष्ट रुपमा संलग्न देखिएको भन्दै प्रतिवेदनमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपको वास्तविक अवस्थाबारे थप अनुसन्धान गर्न भनिएको छ।

भदौ २३ गते प्रदर्शनको आह्वानकर्ताहरू रक्षा बम, जस्मिन ओझालगायत र हामी नेपालका गुरुङसँग माइतीघरमा विवादसमेत भएको प्रतिवेदनमा उल्लेख छ। प्रदर्शनस्थलमा टेन्ट, एम्बुलेन्स, माइकिङलगायतको व्यवस्था गरेको देखेपछि गुरुङसँग उनीहरूको विवाद भएको प्रतिवेदनमा जनाइएको छ।

‘२०८२ भाद्र २३ गते लगभग ९ बजेतिर जेनजीका अगुवा भनिने आह्वानकर्ताहरू रक्षा बम, जस्मि ओझालगायतको समूह पुगेपछि हामी नेपालका सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीनवटा एम्बुलेन्स, माइकिङलगायतको व्यवस्था गरेको देखेर त्यहाँ रक्षा बम, जस्मिन ओझालगायतका समूहले सुधन गुरुङसँग केही समय विवादगरी सुधन गुरुङलाई प्रदर्शनबाट फर्कन समेत आग्रह गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: १३ जेठ २०८३ १९:२५ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast