काठमाडौँ- चितवनमा रुख ढलेर अवरुद्ध भएको सडक सशस्त्र प्रहरी बल नेपालले खुलाएको छ।
आइतबार बिहान भरतपुर महानगरपालिका-२ आपटारीस्थित विद्युत् सबस्टेसन नजिक रुख ढलेपछि केही समय सडक अवरुद्ध भएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सप्रनि नेतृत्वमा गएको टोलीले रुख पन्छाएर सडक सञ्चालनमा ल्याएको हो।
यसैबीच, पर्वतको जलजला गाउँपालिका-८ फर्सेस्थित कालीगण्डकी नदीको बाढीले ८० घर पूर्णरूपमा बगाएको छ। अन्य २३ घर उच्च जोखिममा रहेका र बस्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ ।
उच्च जोखिममा रहेका घरका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम जारी छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायका टोली निरन्तर उद्धार कार्यमा सक्रिय छन्।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा स्थानान्तरणको काम जारी छ।



